सुचना, समाचार र मनोरन्जन

भोक लाग्दा खाना खाएनौ भने शरिरमा के हुन्छ?

भोक लाग्नु शरीरको एक प्राकृतिक संकेत हो । यो संकेतले बताउँछ, ‘तिम्रो शरीरमा उर्जा र पोषणको आवश्यक छ ।’ तर भोक लागेको स्थितिमा हामीले केही पनि खाएनौं भने शरीरले विभिन्न शारीरिक, मानसिक र पाचनसम्बन्धी परिवर्तनहरू अनुभव गर्छ । भोक लाग्नु भनेको मस्तिष्कको हाइपोथालमसले रगतमा ग्लुकोजको स्तर कम भएको वा पेट खाली भएको संकेत प्राप्त गर्नु हो ।

सामान्य अवस्थामा खाना खाएपछि शरीरले ग्लुकोज, एमिनो एसिड र फ्याटबाट ऊर्जा प्राप्त गर्छ । तर, जब हामी भोक लाग्दा खाना खाँदैनौं, शरीरले वैकल्पिक ऊर्जा स्रोतहरू प्रयोग गर्न थाल्छ, जसले विभिन्न शारीरिक प्रक्रियाहरूलाई प्रभावित गर्छ ।

जब हामी भोक लाग्दा ४–८ घण्टासम्म खाना खाँदैनौं, शरीरले तत्काल ऊर्जा आपूर्तिका लागि निम्न प्रक्रियाहरू अपनाउँछ

खाना नखाँदा रगतमा ग्लुकोजको स्तर घट्छ, किनभने ग्लुकोज मस्तिष्क र अन्य अंगहरूको प्राथमिक ऊर्जा स्रोत हो । यो कमीले थकान, चक्कर र एकाग्रतामा कमी ल्याउँछ ।

ग्लाइकोजेनको प्रयोग शरीरले कलेजो र मांसपेशीमा संग्रहित ग्लाइकोजेन (ग्लुकोजको भण्डार) लाई तोडेर ऊर्जा उत्पादन गर्छ । यो प्रक्रिया ग्लाइकोजेनोलिसिस भनिन्छ । सामान्यतया, ग्लाइकोजेनको भण्डार १२–२४ घण्टासम्म मात्र रहन्छ।

भोकको अवस्थामा इन्सुलिनको स्तर घट्छ । ग्लुकागन र एपिनेफ्रिन जस्ता हर्मोनहरूको स्तर बढ्छ । यी हर्मोनहरूले ग्लाइकोजेन र बोसोलाई तोडेर ऊर्जा निकाल्न मद्दत गर्छन् ।

पेट खाली हुँदा ग्यास्ट्रिक एसिडको उत्पादन बढ्छ, जसले पेट दुख्ने, अम्लपित्त वा पेटको अल्सरको जोखिम बढाउँछ । साथै, पेटबाट आवाज आउन सक्छ, जुन पेटको मांसपेशी संकुचनको परिणाम हो ।

भोकले चिडचिडापन, रिस, र तनाव बढाउँछ ।

यी प्रभावहरू सामान्यतया खाना खाएपछि तुरुन्तै सामान्य हुन्छन्, तर बारम्बार भोकै बस्ने बानीले दीर्घकालीन समस्याहरू निम्त्याउँन सक्छ ।

जब हामी २४ देखि ४८ घण्टासम्म खाना खाँदैनौं, शरीरले ग्लाइकोजेनको भण्डार सकिएपछि वैकल्पिक ऊर्जा स्रोतहरूमा निर्भर गर्न थाल्छ । यो अवस्थालाई ‘फास्टिङ’ को प्रारम्भिक चरण मानिन्छ ।

प्रमुख प्रभावहरू निम्न छन्

ग्लाइकोजेन सकिएपछि शरीरले बोसो तोडेर किटोन बडिज उत्पादन गर्छ । यी किटोनहरू मस्तिष्क र अन्य अंगहरूका लागि वैकल्पिक ऊर्जा स्रोत बन्छन् । किटोसिसले थकान, टाउको दुखाइ र मुखबाट गन्ध आउने लक्षणहरू निम्त्याउँन सक्छ ।

शरीरले ऊर्जा संरक्षण गर्न मेटाबोलिक दर घटाउँछ । यसले शरीरको तापमान र नाडीको गति कम गर्छ, जसले चिसो महसुस हुने र कमजोरीको अनुभव गराउँछ ।

यदि बोसोको भण्डार कम छ भने, शरीरले मांसपेशीको प्रोटिन तोडेर ग्लुकोज बनाउन थाल्छ ९ग्लुकोनियोजेनेसिस० । यसले मांसपेशीको क्षति र कमजोरी निम्त्याउँछ ।

लामो समयसम्म खाना नखाँदा आन्द्राको गतिविधि सुस्त हुन्छ, जसले कब्जियत वा पेट फुल्ने समस्या ल्याउन सक्छ । साथै, पित्ताशयमा पित्त जम्मा भएर पित्त पत्थरीको जोखिम बढ्छ ।

भोकले एकाग्रता, निर्णय क्षमता र भावनात्मक स्थिरतामा कमी ल्याउँछ । व्यक्तिलाई चिन्ता, उदासीनता, वा डिप्रेसनको अनुभव हुन सक्छ ।

जब हामी लामो समय (कयौं दिन वा हप्ता) खाना खाँदैनौं, शरीर ‘भोकमरी मोड’ मा प्रवेश गर्छ । यो अवस्था अत्यन्त खतरनाक हुन्छ र जीवनलाई जोखिममा पार्छ ।

प्रमुख प्रभावहरू यस्ता छन

शरीरले मांसपेशी र अन्य तन्तुहरू तोडेर ऊर्जा निकाल्छ, जसले मांसपेशीको ठूलो क्षति, हृदयको कमजोरी, र अन्य अंगहरूको कार्यमा ह्रास ल्याउँछ ।

पोषणको कमीले प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, जसले संक्रमण र रोगको जोखिम बढाउँछ । भिटामिन र खनिजको कमीले रक्तअल्पता, हड्डी कमजोर हुने र छालाको समस्या निम्त्याउँछ ।

लामो समय भोकै बस्दा थाइराइड हर्मोन, सेक्स हर्मोन र तनाव हर्मोन ९कोर्टिसोल० मा असन्तुलन हुन्छ । महिलाहरूमा महिनावारी अनियमित हुने वा बन्द हुने समस्या देखिन्छ।

मस्तिष्कले किटोन बडिजबाट केही ऊर्जा प्राप्त गरे पनि, लामो समयसम्म पोषण नपाउँदा स्मरणशक्ति, एकाग्रता र मानसिक स्वास्थ्यमा गम्भीर असर पर्छ । चरम अवस्थामा, व्यक्ति बेहोस वा कोमामा जान सक्छ ।

भोकले बालबालिकाको वृद्धि, मस्तिष्क विकास र हर्मोनल सन्तुलनमा गम्भीर असर गर्छ । उनीहरूमा पोषणको कमीले स्थायी क्षति पुग्न सक्छ ।

गर्भवती महिलाले भोकै बस्दा भ्रुणको विकासमा असर पर्छ, जसले बच्चा कम तौलको हुने, जन्मजात स्वास्थ्य समस्या देखिने वा गर्भपतनको जोखिम बढाउँछ।

मधुमेह, उच्च रक्तचाप वा हृदयरोग भएकाहरूमा भोकले रोगलाई झनै जटिल बनाउँछ । उदाहरणका लागि, मधुमेहीहरूमा हाइपोग्लाइसेमिया (रगतमा चिनीको स्तर खतरनाक रूपमा कम हुने) जोखिम बढ्छ।

बारम्बार भोकै बस्ने बानीले खाने विकारहरू (जस्तै, एनोरेक्सिया नर्भोसा) निम्त्याउँन सक्छ, जसले शारीरिक र मानसिक स्वास्थ्यमा दीर्घकालीन क्षति पुर्‍याउँछ ।

छोटो अवधिको भोक (जस्तै, इन्टरमिटेन्ट फास्टिङ) नियन्त्रित र चिकित्सकीय सल्लाहमा गर्दा स्वास्थ्य लाभहरू जस्तै– तौल नियन्त्रण, मेटाबोलिक स्वास्थ्य सुधार ल्याउन सक्छ । तर, अनियन्त्रित र बारम्बार भोकै बस्ने बानी हानिकारक हुन्छ । स्वस्थ जीवनशैलीका लागि निम्न बानीहरू अपनाउनुपर्छः

दिनमा ३–५ पटक सन्तुलित आहार ९कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन, र खनिज० खाने ।

पानी र तरल पदार्थको नियमित सेवनले भोकको प्रभाव कम गर्छ ।

तनावले भोक दबाउन सक्छ, त्यसैले योग ध्यान वा व्यायाम उपयोगी हुन्छ ।

लामो समय भोकै बस्नुपर्ने अवस्था जस्तै (धार्मिक उपवास) मा चिकित्सकको सल्लाह लिने ।

Leave A Reply

Your email address will not be published.