सुचना, समाचार र मनोरन्जन

सीटीईभीटीका कार्यक्रम पढ्न अब प्रवेश परीक्षा दिनु नपर्ने

काठमाडौँ,

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कुनै पनि कार्यक्रम अध्ययन गर्न विद्यार्थीले प्रवेश परीक्षा (इन्ट्रान्स) दिन नपर्ने भएको छ । अबदेखि एसईई तथा एसएलसीमा प्राप्त गरेको नम्बरका आधारमा छनौट गरिनेछ।

निर्देशिका अनुसार एसईईमा लिएको नम्बरलाई जिपिए ४ अङ्क भार मानिएको छ । जसमा सामुदायिक विद्यालयमा अध्ययन गरेकालाई १ अङ्क र संस्थागत (निजी) विद्यालयमा अध्ययन गरेकालाई ०.८५ अङ्क गणना गरी योग्यता क्रम निर्धारण गरिनेछ ।

परिषद्ले ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनौट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ जारी गरेको छ ।

वैशाख २६ गते बसेको परिषद्को २०७ औँ बैठकले निर्णय गरे परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएको थियो । सोही अनुसार कार्यालयले निर्देशिका जारी गरेको हो ।

विगतमा प्रवेश परीक्षा लिएर सोही प्रवेश परीक्षामा प्राप्त गरेको अङ्कका आधारमा विद्यार्थी भर्ना गरिँदै आएको थियो । अबदेखि भने प्रवेश परीक्षा नलिईकनै एसईई वा प्रमाणपत्र तहमा प्राप्त गरेको जिपिएको आधारमा भर्ना गरिनेछ ।

यही शैक्षिक सत्रबाट जिपिएको आधारमा विद्यार्थी भर्ना गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्रवेश परीक्षा लिएर विभिन्न खालका नकारात्मक हल्ला फैलाउने गरेको भन्दै जिपिएलाई आधार मानेर विद्यार्थी भर्ना गरिने कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.