काठमाडौं : जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले संघीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले यस्तो माग गरेका हुन्।
स्थानीय स्तरका सडक, ढलानजस्ता विकास निर्माणको कार्य संघीय सरकारको नभएको उनले तर्क गरे। उनले विकास कार्यमा केन्द्र सरकारले समन्वय र सहकार्यको भूमिका मात्रै खेल्नुपर्ने बताए। अध्यक्ष राउतले ‘जनता आवास कार्यक्रम’ प्रति प्रश्न उठाउँदै यसले विपन्न वर्गलाई विस्थापित बनाएको आरोप लगाए।
उनले सरकारले ल्याउने बजेटले जनताको वास्तविक समस्या सम्बोधन गर्नुपर्नेमा उनको जोड छ।
उनले भने, ‘अब विकासकारी हस्तान्तरणको सिद्धान्तलाई लिनुपर्दछ। यो फलानोको घरदेखि ढिस्कानोको घरसम्म ढलान बनाउने काम संघीय सरकारको होइन। विकास निर्माणका सबै कामहरु प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्छ। उनीहरुसँग सहकार्य र समन्वय गर्ने होइन। त्यही भएर अब हामीले धेरै लोभ नगरेर विकास निर्माणका सबै काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने सिद्धान्त बजेटमा अवलम्वन गर्नुपर्छ।’
नागरिकमैत्री सेवा उपलब्ध गराउन सिंहदरबारले नसक्ने कुरा व्यवहारतः पुष्टि भइसकेको समेत उनको भनाइ छ।