सुचना, समाचार र मनोरन्जन

निजामती सेवा विधेयक राज्य व्यवस्था समितिबाट पारित

काठमाडौँ,

सङ्घीय निजामती सेवा विधेयक राज्य व्यवस्था समितिबाट पारित पारित भएको छ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट विधेयक सर्वसम्मत पारित गर्ने निर्णय गरेको सभापति रामहरि खतिवडाले जानकारी दिए।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विगत नौ वर्षदेखि विचाराधीन विधेयकलाई समितिले टुङ्गोमा पुर्‍याउन सफल भएकोमा धन्यवाद व्यक्त गरे । निजामती सेवा विधेयक २०८० फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको थियो ।

सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि २०८१ जेठ १५ गते राज्य व्यवस्था समितिमा पठाएको थियो ।

विवादित मुख्य दुई विषय कुलिङ पिरियड र कर्मचारीको अवकाश उमेर ६० वर्ष पुर्‍याउँदा अपनाउने कार्यान्वयन विधिमा सहमति जुटेपछि विधेयक पारित भएको समितिले जनाएको छ ।

निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने सहमति भएको छ । त्यस्तै कुलिङ पिरियड दुई वर्ष राख्ने सहमति भएको छ ।

आज समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री रमेश लेखकले दुवै विषयमा राखेका प्रस्ताव समितिबाट पारित भएपछि विधेयक समितिबाट पास भएको हो । विधेयकमा निजामती सेवामा प्रवेश गर्ने उमेर पुरुषको ३५ वर्षसम्म र महिलाको ३९ वर्षसम्म राखिएको छ ।

विधेयकमा पालिकाका कर्मचारीहरूका लागि एक पटकका लागि अन्तरप्रदेश सरुवा हुन पाउने व्यवस्थासमेत गरिएको छ ।

Leave A Reply

Your email address will not be published.