सुचना, समाचार र मनोरन्जन

गुल्मीको सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा रमाउदै

गुल्मी,

कालीगण्डकी गाउँपालिकाका किसान किबीखेतीमा आकर्षित भएका छन् । वडा नम्बर १ सिरकोटको सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा लागेको हो । मकैलगायत बाली लगाउँदा लागत बढी, उत्पादन र आम्दानी कम भएकाले किसान किबीखेतीमा लागेका हुन् ।

अहिले किबीको बजार राम्रो भएकाले किसानलाई व्यावसायिक खेतीमा लाग्न प्रेरित गरेको स्थानीय बताउँछन् । सिरकोटका १८ परिवारका नागरिकले अहिले दुई सय ५० रोपनी क्षेत्रफलमा किबीखेती गरिरहेका छन् । त्यसमा छ हजार चार सय बिरुवा लगाइएको छ ।

स्थानीय लक्ष्मीपति न्यौपानेले आफ्नो बारीमा २०७७ सालमा एक हजार चार सय बिरुवा लगाए । पहिलो उत्पादनका रुपमा गत वर्ष उनले दुई लाख ५० हजार रुपैयाँको किबी बिक्री गरे । यस वर्ष सात लाखको बिक्री गर्ने लक्ष्य राखेको उनले बताए । रोजगारीको सिलसिलामा २०६१ सालमा भारत जानुभएका दुई वर्ष बसेर स्वदेश फर्किए । अहिले स्थानीय देउराली माध्यमिक विद्यालयमा अध्यापनसमेत गराउने उनले किबीका साथै एक हजार चार सय सुन्तलाका बिरुवा लगाएक थिए।

गाउँमा गगन तरामुका नौ सय तथा चन्द्रकला पाण्डेका आठ सय किबीका बिरुवा छन् । गत वर्ष सिरकोटबाट मात्रै १० लाख रुपैयाँको किबी निर्यात भएको छ । स्थानीय बजारमा फुटकर प्रतिकिलो तीन सय र थोकमा प्रतिकिलो दुई सयमा बिक्री हुन्छ ।

Chaka Panja

औसत प्रतिकिलो दुई सय ५० मा स्थानीय बजारका साथसाथै बुटबल, भैरहवासम्म पनि किबी बिक्री हुने गरेको उन्नतशील कृषि तथा फलफूल कृषक समूहका अध्यक्षसमेत रहेका पदमपाणि पाण्डेले जानकारी दिनुभयो । किबीका बिरुवा २०७७ सालमा दोलखाबाट प्रतिबिरुवा तीन सय रुपैयाँमा खरिद गरिएको थियो । पछि कालीगण्डकी गाउँपालिकाले पनि बिरुवामा अनुदान दिएको थियो ।

सिरकोटमा यस वर्ष सबै किसानको गरी २० लाख रुपैयाँको किबी बिक्री हुने अपेक्षा गरिएको छ । किबीले सामान्यतया लगाएको कम्तीमा चार वर्षदेखि अधिकतम ३५ वर्षसम्म फल दिने गर्दछ । त्यसले गर्दा किसानलाई बिरुवा लगाइरहने झन्झट हुँदैन । उनले सिरकोटलाई किबीको नमुना गाउँको विकास गर्ने लक्ष्य पालिकाले लिएकाले किसानको समस्यामा पालिकासँगै रहने बताए ।

किबीखेतीमा आकर्षित भएका किसानलाई राज्यकातर्फबाट राम्रो सहयोग मिलेको छ । सिँचाइका लागि जिल्लामा रहेकाे जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले दुई वटा पोखरी निर्माण गरेको छ । सिरकोट किबीखेती पोखरी जल पुर्नभरव योजनाबाट चालू आर्थिक वर्षमा सिँचाइ विकास डिभिजन कार्यालयले ७५ घनमिटरका ६५ हजार लिटर पानी अट्ने पोखरी निर्माण गरेको हो । आकाशे पानी र खेर गएको पानी पोखरीमा जम्मा हुनेछ भने खडेरीका बेला पोखरीबाट सिँचाइ हुनेछ ।

१० लाख रुपैयाँमा निर्माण भएका पोखरीबाट किसानलाई धेरै राहत मिलेको छ । कृषिजन्य सामग्रीको उत्पादन बढाउने लक्ष्य रहेको कार्यालय प्रमुख भरत सापकोटा बताउनुहुन्छ । कार्यालयका तर्फबाट जिल्लाभर कुलो, पोखरी लगायतका क्षेत्रमा काम गरिरहेको उहाँले बताउनुभयो । प्रमुख सापकोटाले सिरकोटका किसानको लोभलाग्दो मेहनत भएको पनि बताए ।

त्यसैगरी कृषि ज्ञान केन्द्रले पनि दुई वटा पोखरी बनाएको छ भने किबीका लागि आवश्यक पिल्लरमा अनुदान दिएको छ । त्यसैगरी गाउँपालिकाले पनि अहिलेसम्म दुई हजार पाँच सय बिरुवा अनुदानमा उपलब्ध गराएको छ ।

Leave A Reply

Your email address will not be published.