ताप्लेजुङ,
ताप्लेजुङको धार्मिक तथा पर्यटकीय स्थल सिदिङ्वा धामको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीन दिने पर्यटन महोत्सव शुरू भएको छ ।
समुद्री सतहदेखि तीन हजार पाँच सय १५ मिटरको उचाइमा रहेको सिदिङ्वा धाम जैविक विविधताले भरिपूर्णको रमणीयस्थल हो ।
धार्मिक महत्त्वका साथै पर्यटन विकासको पनि प्रचुर सम्भावना रहेकाले यो क्षेत्रको समग्र विकासलाई केन्द्रमा राखेर महोत्सव आयोजना गरिएको सिदिङ्वा गाउँपालिकाले जनाएको छ ।
महोत्सवमार्फत ढुङ्ढुङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, कालीपोखरी, हात्तीढुङ्गाजस्ता गाउँपालिकाभित्रका अन्य पर्यटकीयस्थलको पनि प्रचारप्रसार गरिनेछ ।
गाउँपालिका अध्यक्ष मानबहादुर राईले सिदिङ्वा धाम कञ्चनजङ्घा पदमार्गको मुख्य प्रवेशद्वार भए पनि पर्याप्त प्रचारप्रसार नहुँदा यो स्थल उपेक्षित रहेको बताए ।
महोत्सवका माध्यमबाट यस क्षेत्रमा स्थानीय र बाह्य पर्यटकको आगमन बढाउने विश्वास गरिएको छ । महोत्सवमा सिदिङ्वा धाम दर्शन यात्रा, खेलकुद प्रतियोगिता, स्थानीय उत्पादन प्रदर्शनी, नौमती बाजा, च्याब्रुङ नाचसहितका सांस्कृतिक कार्यक्रम आयोजना हुनेछन् ।
महोत्सवमा वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ । मेलास्थलबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, पाथीभरा ९मुक्कुमलुङ०, तिम्बुङ पोखरी तथा भारतका सिक्किम र दार्जिलिङको दृश्यावलोकन गर्न सकिन्छ ।