काठमाडौँ :
नेपाली चलचित्रको इतिहासमा अभूतपूर्व सफलता हासिल गरेको फिल्म हो ‘पूर्ण बहादुरको सारङ्गी’। यो फिल्मको व्यापारलाई न कुनै फिल्मले छुन सकेको छ न नजिक पुर्याउन नै। बक्स अफिसमा इतिहास रचेको यो फिल्मको व्यापार नै ४६ करोड ८७ लाख रुपैयाँभन्दा बढीको थियो।

कीर्तिमानी ग्रस व्यापार गरेको यो फिल्मलाई हेरेर फिल्मकर्मीहरु सोही लयको फिल्म निर्माण गर्न खोजेको देखिन्छ। साथै यस यसका मुख्य कलाकारहरूको अभिनय यात्रामा पनि नयाँ मोड ल्याइदियो। विजय बराल,अञ्जना बराईलीको जोडीलाई खुबै रुचाइयो पनि। यो फिल्म प्रदर्शनमा आएको दुई वर्ष पूरा भएको छ। २०८१ कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यस फिल्मका मुख्य कलाकार विजय बराल र अञ्जना बराइलीसहितका निर्माण टोलीले सामाजिक सञ्जालमार्फत खुसी साट्दै तत्कालीन क्षण र दर्शकको मायालाई स्मरण गरेका छन्।
फिल्मको केन्द्रीय भूमिकामा देखिएका अभिनेता विजय बरालका लागि यो फिल्म जीवनकै सबैभन्दा विशेष कोशेढुङ्गा बन्यो। किनभने दयाहाङ राईको सपोटिङ कलाकारका रुपमा देखिदै आएका विजयले थुप्रै फिल्मलाई एकलौटी हाँस्ने सौभाग्य पाए। यस फिल्ममा बुबा र छोराको भावनात्मक सम्बन्ध, गरिबी र सङ्घर्षलाई पर्दामा उनले जसरी जीवन्त उतारे, त्यसले लाखौँ दर्शकको आँखा रसाएको थियो। ‘स्टारडम’ भन्दा पनि सशक्त अभिनयले दर्शकको मन जित्न सकिन्छ भन्ने उदाहरण विजयले यस फिल्ममार्फत पेस गरे। त्यस्तै, अञ्जना बराइलीले पनि आफ्नो चरित्रलाई न्याय गर्दै सशक्त उपस्थिति जनाइन्।
विजय र अञ्जनाका साथै फिल्ममा मुकुन भुसाल, प्रकाश सपूत, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी र जान्वी पौडेललगायतको अभिनय रहेको यस फिल्मले हलमा १०० दिन मनाउन सफल भएको थियो। सरोज पौडेलको निर्देशन तथा महेश दवाडीको पटकथामा बनेको यो चलचित्रले कुनै ठूलो बजेट वा प्रचारप्रसारको भरमा भन्दा पनि कलाकारहरूको जीवन्त अभिनय र भावनात्मक कथाका कारण ‘वर्ड अफ माउथ’(दर्शकको प्रशंसा)बाट ऐतिहासिक सफलता चुमेको थियो।