मुम्बई :
बलिउड अभिनेता कार्तिक आर्यनले आफ्नो ३६औं जन्मदिन मनाउँदै गर्दा फ्यानहरूलाई विशेष उपहार दिएका छन्। आइतबार जन्मदिनको अवसर पारेर उनले आगामी फिल्म ‘कालिया’निर्माण गर्ने घोषणा गरेका हुन्। यो सँगै उनका फ्यानहरु उत्साहित बनेका छन्। सधैं रोमान्टिक र कमेडी भूमिकामा रुचाइएका कार्तिक यसपटक बिल्कुलै फरक अर्थात् ‘मन्स्टर थ्रिलर’विधामा दर्शकले हेर्न पाउने छन्। करण जोहरको धर्मा प्रोडक्सन्स र डोपामाइन स्टुडियोको संयुक्त निर्माणमा बन्ने यो फिल्मले दर्शकलाई राक्षसको रहस्यमयी संसारमा लैजानेछ ।

फिल्मको घोषणा एक रहस्यमयी र डरलाग्दो भिडियोमार्फत गरिएको हो। भिडियो सेयर गर्दै निर्माता करण जोहरले लेखेका छन्, ‘श्रीकृष्णले उसलाई टाढा पठाएका थिए। हामी मानिसले उसलाई फेरि बोलायौं।’ यो पंक्तिले पौराणिक कथा र आधुनिक थ्रिलरको सङ्गम हुने सङ्केत गरेको छ। यस फिल्मको निर्देशन सन्दीप मोदीले गर्दैछन्। ओटीटी प्लेटफर्ममा ‘द नाइट म्यानेजर’ र ‘आर्या’ जस्ता सफल वेब सिरिज निर्देशन गरेर चर्चा कमाएका मोदीले यही फिल्ममार्फत बलिउडको ठूलो पर्दामा निर्देशकका रूपमा डेब्यु गर्न लागेका हुन्।
‘कालिया’ को कथा भारतीय लोककथा र पौराणिक मान्यताबाट प्रेरित रहने निर्माण पक्षले जनाएको छ। भारतका विभिन्न भेगमा पुस्तौंदेखि सुनिँदै आएका रहस्यमयी कथालाई आधार बनाएर डरलाग्दो र रोमाञ्चक परिवेश तयार पारिनेछ। रोमान्टिक र पारिवारिक फिल्मका लागि चिनिने करण जोहरको धर्मा प्रोडक्सन्सले समेत पहिलोपटक ‘मन्स्टर थ्रिलर’ विधामा हात हालेको हो।
ठूलो पर्दामा फरक सिनेमाई अनुभव दिने लक्ष्यसहित निर्माण हुन लागेको यस फिल्ममा कार्तिक आर्यन अभिनयसँगै निर्माताका रूपमा पनि जोडिएका छन्। फिल्ममा करण जोहर, अदार पूनावाला, अपूर्व मेहता, सोमेन मिश्रा, मारिज्के डी’सूजा र कार्तिक आर्यनको लगानी रहनेछ। निर्माण पक्षले हाल फिल्मको घोषणा मात्र गरेको छ भने छायाङ्कन र प्रदर्शन मितिबारे विस्तृत विवरण आउन बाँकी छ।