सुचना, समाचार र मनोरन्जन

सौगात र बेनिशा अभिनित फिल्म ‘सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक

काठमाडौं :

राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन्। सार्वजनिक तीन मध्ये पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल र बाल कलाकार करण नेपाली भावुक देखिएका छन्।

दोस्रो पोस्टरमा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक आआफ्नो पात्र अनुसारको भूमिकामा प्रस्तुत छन्। तेस्रो पोस्टरमा सिनेमाका मुख्य कलाकार सौगात मल्ललाई मात्रै स्थान दिइएको छ। उनी बैशाखीको साहाराले निराश भावमा कतै हिडिरहेको बुझ्न सकिन्छ । सार्वजनिक पोस्टरले दर्शकमाझ सिनेमाप्रति उत्सुकता थप्ने विश्वास निर्माण टिमको छ।

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा सौगात, बेनिशा, श्री कृष्ण, जानुका र करणसहित लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ।

‘सिटामोल’ मार्फत् निर्माता तथा निर्देशकले बिम्बात्मक नेपाल र आम नेपालीको जनजीवन र परापुर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको कुसंस्कारलाई चिरफार गर्न खोजेको छन्। सिनेमाले त्यही समस्याको उठानसहित दर्शकको मन जित्ने सिनेमा निर्माण गरेको भनाई निर्देशक तथा निर्माताको रहेको छ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा छन्।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन,प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन्।

Leave A Reply

Your email address will not be published.