सुचना, समाचार र मनोरन्जन

वडा सदस्य स्व. संजय श्रेष्ठको स्मृतिमा पोखरा ४ मा खेलकुद कार्यक्रम सम्पन्न

पोखरा ,

पोखरा महानगरपालिका वडा नं. ४ द्वारा दिवंगत वडा सदस्य स्व. संजय श्रेष्ठको सम्मानमा आयोजित संजय श्रेष्ठ स्मृति खेलकुद प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ। समाजसेवी, समर्पित जनप्रतिनिधि तथा वडा विकासमा अग्रणी भूमिका खेल्ने श्रेष्ठको सम्झनामा आयोजित यस कार्यक्रमले वडा–४ का युवाहरुमा खेल भावना, एकता र सकारात्मक ऊर्जाको संचार गराएको छ।

कार्यक्रम संयोजक तथा वडा सदस्य प्रकाश कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा वडा अध्यक्ष देवकृष्ण पराजुली उपस्थित रहेका थिए। उनले दिवंगत श्रेष्ठको योगदानप्रति श्रद्धाञ्जली अर्पण गर्दै खेलकुदमार्फत युवालाई अनुशासित, सक्रिय र सामाजिक उत्तरदायी बनाउने यो प्रयास प्रशंसनीय भएको बताए।

प्रतियोगितामा वडा–४ भित्रका विभिन्न टोल टिमहरुले उत्साहपूर्वक सहभागिता जनाएका थिए। टिम फ्युजन गैहापाटन प्रथम स्थान प्राप्त गर्दै नगद रु २५,०००, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो। सिद्धार्थ मार्ग टोल द्वितीय स्थान रु १५,००० र सबैखाल क्लब तृतीय स्थान रु १०,००० प्राप्त गरे।

श्रेष्ठ तथा अपेक्स पराजुलीले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरे। पुरस्कार वितरण सत्रमा वडा सदस्य पार्वती माकाजु , विकामाया परियार, वडा सचिव कमला गुरुङ, स्व. श्रेष्ठका परिवार सदस्य पुष्कर श्रेष्ठ, टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र पराजुली, समाजसेवी देवेन्द्र कोइराला लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले समाजमा दिवंगत जनप्रतिनिधिको योगदानलाई सम्मान गर्ने परिपाटीको सुरुवात मात्र गरेको छैन, युवाहरुलाई खेलकुद तथा सामाजिक क्रियाकलापतर्फ सक्रिय गराउने प्रेरणा समेत प्रदान गरेको छ।

वडा नं. ४ को यस्तो पहल सराहनीय छ, जसले ूस्मृतिमा समर्पण, वर्तमानमा प्रेरणाू भन्ने भावना उजागर गर्‍यो। स्थानीय तहको नेतृत्वले यस्ता कार्यक्रमलाई निरन्तरता दिई युवाको क्षमता उजागर गर्दै जाने हो भने पोखरा मात्र होइन, सम्पूर्ण समाजमा सकारात्मक परिवर्तन सम्भव छ ।

 

 

Leave A Reply

Your email address will not be published.