सुचना, समाचार र मनोरन्जन

सास्कृतिक विविधताले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउँछः राष्ट्रपति पौडेल

काठमाडौ, 

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जातजातिका मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतमा रहेको विविधताले नेपाली समाजलाई एकढिक्का बनाउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको बताएका छन ।

नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८१ वितरण समारोहलाई सम्बोधन गर्दै आज उनले नेपालको अनुपम भौगोलिक विविधता जस्तै नेपाली समाज पनि विविधतायुक्त भएको भन्दै नेपाल जस्तो विविध जातजाति, भाषाभाषी र सांस्कृतिक विशेषता रहेको मुलुकका लागि सङ्गीत र नाटक केवल मनोरञ्जनका साधन मात्र नभई मौलिक पहिचानको धरोहर पनि भएको बताए ।

राष्ट्रपति पौडेलले मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतका माध्यमबाट नेपाली लोकजीवन, मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवर्द्धन गर्नु सबैको कर्तव्य भएको उल्लेख गरे । उनले हाम्रो कला, संस्कृति, सङ्गीत र नाट्यको संरक्षण, सम्वर्द्धन गरी विश्वव्यापीकरणतर्फ ध्यान दिन आवश्यक रहेको बताउँदै नेपाली मौलिक भाका, राग र अभिनय शैलीले संसारकै ध्यान तान्न सक्ने स्पष्ट पारे ।

उहाँले भन्नुभयो, “यसतर्फ सरकार मात्र होइन विश्वभर छरिएका नेपालीहरूको म ध्यानाकृष्ट गर्न चाहन्छु । म चाहन्छु, भविष्यमा नेपाली सङ्गीत र नाटक विश्वभर बजून्, प्रदर्शन होउन् र नेपाल साङ्गितिक तथा नाट्य रूपमा विश्व चिन्तनको एउटा केन्द्र बनोस् ।”

राष्ट्रपति पौडेलले मुलुकमा राजनीतिक परिवर्तनसँगै कलाप्रति राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन भएर नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा प्रतिष्ठानजस्ता विभिन्न विधागत प्रज्ञाप्रतिष्ठान स्थापना हुन संभव भएको बताए । उनले समय र समाज गतिशील भएजस्तै समय र समाजको ढुकढुकी प्रतिबिम्बित हुने गीतसङ्गीत, कला र संस्कृतिले हाम्रो पहिचानलाई जीवन्त राख्ने बताए ।

उनले भने, “साँच्चिकै भन्नुपर्दा कला र संस्कृति जोगाउनु भनेको राष्ट्रको आत्मा जोगाउनु हो । हाम्रो मौलिक कला र सृजना नेपाल र नेपालीलाई विश्वभर चिनाउने एउटा सशक्त माध्यम भएकाले यसको विकास एवं प्रतिभाको सम्मानमा राज्यले कञ्जुस्याई गर्न हुँदैन भन्ने मलाई लाग्दछ ।”

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल सङ्गीत तथा नाट्या दीर्घ साधना सम्मानबाट वरिष्ठ गायक दीप श्रेष्ठलाई, रङ्गमञ्च विधातर्फ वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापालाई, सङ्गीत विधातर्फ वरिष्ठ गायिका कुन्ती मोक्तानलाई, नाट्य विधातर्फ वरिष्ठ नाट्यकर्मी वेदकुमारी न्यौपानेलाई, नृत्य विधातर्फ वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठलाई, नृत्य खोज तथा अनुसन्धान विधातर्फ वरिष्ठ अनुसन्धानकर्ता कृष्णप्रसाद पौडेललाई, लोकसंगत विधातर्फ वरिष्ठ लोक गायक नारायण रायमाझीलाई, परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ कुशेश्वर राईलाई र वाद्यबादन विधातर्फ वरिष्ठ वाद्ययवादक राजु अग्रवाललाई सम्मान गरेका थिए

Leave A Reply

Your email address will not be published.