सुचना, समाचार र मनोरन्जन

तमिलको सुपरहिट ‘९६’ पछि प्रेम कुमार हिन्दी फिल्म निर्माण गर्दै

काठमाडौं :

सन् २०१८ मा सार्वजनिक भई दर्शक र समालोचकहरूबाट अत्यधिक प्रशंसा प्राप्त गरेको तमिल भाषाको चर्चित फिल्म ‘९६’ हिन्दी भाषामा पनि निर्माण हुने भएको छ। यो फिल्मका निर्देशक सी. प्रेम कुमारले यो चर्चित फिल्मलाई अब हिन्दी भाषामा निर्माण गर्ने जानकारी दिएका हुन्।

‘९६’ फिल्ममा दुई दशकपछि पुनः भेट भएका पात्र राम र जानुको सम्बन्धलाई अत्यन्तै भावुक ढङ्गले चित्रण गरिएको छ। विजय सेतुपति र तृषा कृष्णनको मुख्य अभिनय रहेको फिल्मले प्रदर्शनको समयमा २० भन्दा बढी राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार जितेको थियो। उक्त फिल्मले समीक्षात्मक रूपमा मात्र होइन, व्यापारिक रूपमा पनि निकै सफल भएको थियो।

निर्देशक कुमारका अनुसार फिल्म ‘९६’ पहिलोपटक हिन्दी भाषाका लागि तयार पारिएको कथा थियो, जसमा अभिनेता अभिषेक बच्चनलाई मुख्य भूमिकामा राख्ने योजना थियो। तर हिन्दी फिल्म क्षेत्रसँग प्रत्यक्ष सम्पर्क अभाव हुँदा उनले तमिल भाषामा फिल्म निर्माण गरेका थिए,जसले व्यापक सफलता प्राप्त गर्‍यो।

हाल निर्देशक कुमार नयाँ हिन्दी कथाचित्रको तयारीमा छन्। उनले भनेका छन्,‘म अहिले नयाँ फिल्मको कथामाथि काम गरिरहेको छु, जुन हिन्दी भाषामै निर्माण हुनेछ।’

यसपटक उनले हिन्दी फिल्म उद्योगका ख्यातिप्राप्त कलाकारहरूलाई समावेश गर्ने योजना बनाएका छन्। साथै, उनले आफ्नै अर्को सफलतम तमिल चलचित्र ‘मेय्याझगन’ लाई पनि हिन्दी भाषामा पुनः निर्माण गर्ने इच्छा व्यक्त गरेका छन्।

हिन्दी फिल्मप्रति आकर्षण हुनुको कारण बताउँदै कुमारले दर्शकहरूको विविधता र व्यापक पहुँचलाई प्रमुख कारण मानेका छन्। उनले भनेका छन्,‘यदि तपाईं तमिल भाषामा फिल्म बनाउनुहुन्छ भने त्यो तमिलनाडुसम्म सीमित हुन्छ। तर हिन्दी चलचित्र देशभरका विभिन्न भूभागसम्म पुग्छ। कथा कहाँको हो भन्ने आधारमा त्यसको प्रस्तुति, भाषा, रंगरूप सबै परिवर्तन हुन्छ, जुन हिन्दी भाषाको विशेषता हो।’

भारतीय सञ्चार माध्यमहरू अनुसार निर्देशक कुमार हाल आफ्नो नयाँ कथाचित्रको तयारीमा तिव्र गतिमा जुटिरहेका छन्। हिन्दी फिल्म क्षेत्रमा यसपटक उनी ठूला कलाकारहरू र स्थापित निर्माता–निर्देशकहरूलाई प्रस्ताव गर्ने तयारीमा छन्।

Leave A Reply

Your email address will not be published.