सुचना, समाचार र मनोरन्जन

स्तनपान महिनाः कार्यस्थलमा छैन स्तनपान कक्ष

 सरकारले सुत्केरी महिलाका लागि तीन महिना बिदा दिने गरेको छ । निजी क्षेत्रमा भने यो सुविधा अझै सबैले पाइसकेका छैनन् । यसो त स्वस्थ बच्चाका लागि कम्तीमा दुई वर्ष नियमित स्तनपान गराउनुपर्ने हुन्छ ।

तीन महिनापछि नियमित काममा फर्किने कर्मचारी होस् वा पेसा व्यवसायमा लाग्नेहरुले चाहेर पनि आफ्ना सन्तानलाई आवश्यक मात्रामा स्तनपान गराउन पाएका हुँदैनन् । काम गर्ने थलोमा स्तनपान गर्नका लागि ठाउँको अभाव हुने गर्दछ ।

इलाम घर भएर व्यावसायिक कीट विकास केन्द्र भण्डारामा कार्यरत सुरुचि त्रिपाठीको शिशु अहिले एक वर्ष छ महिना पूरा भएको छ । उनी कृषि विकास कार्यालय चितवनमा कार्यालयमा हुँदा नवजात शिशुलाई जन्म दिए । शिशु जन्मिएपछि तीन महिना नियमित आमाको दूध खुवाएको भए पनि पछि कार्यालयको कामको चापले गर्दा नियमित स्तनपान गराउन पाएनन। उनले भने, “घर र कार्यालय दुवैमा सहयोग गर्ने व्यक्ति भयो भने सहज हुने रहेछ ।”

कार्यालयमा कार्यालय प्रमुख कस्तो छ भन्नेमा भर पर्नुपर्ने हुँदा समस्या हुने उनको भनाइ छ । टाढा घर हुनेलाई बच्चाको हेरचाहादेखि नियमित स्तनपानको समस्या हुने गरेको उनले बताए । बच्चा आमाको दूधमा निर्भर हुने समयमा बच्चालाई छाडेर जाँदा उसको शारीरिक वृद्धिमा समेत समस्या हुने गरेको उनले बताए ।

बच्चाको सुनौलो एक हजार दिन भन्ने गरिए पनि सरकारी तथा निजी क्षेत्रमा कार्यरत आमाहरुलाई स्तनपान गराउन समय नमिल्ने उनले बताए ।

पत्रकार प्रतिमा सिलवाल आफूले छोरालाई चार महिनामात्रै नियमित स्तनपान गराउन पाएको बताए । काठमाडौँमा बसेर काम गर्दैगर्दा कार्यालय टाढा भएकाले दिउँसोको समयमा स्तनपान गराउन नपाएको गुनासो गरे। उनले भने, “एकातर्फ मलाई गाह्रो हुन्थ्यो, अर्कोतर्फ बाबुलाई ल्याक्टोजिन खुवाउनु पथ्र्यो ।” आफूलाई जस्तै धेरै आमाहरुले यो समस्या भोगिरहेको सिलवालले बताए ।

भरतपुर महानगरपालिका–९ शरदपुर निवासी स्वस्तिका चौहानको पनि समस्या उस्तै छ । शिशु जन्मिएको तीन महिनादेखि कार्यालयको काममा आएकी उनको बच्चा अहिले एक वर्ष छ महिनाको छ । नजिकै घर भएकाले त्यस्तो ठूलो समस्या नभए पनि महिला कर्मचारीलाई बच्चा जन्मिएपछि समस्या हुने गरेको उनले बताए ।

सरकारी कर्मचारी उहाँ बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कार्यालयमा काममा हुँदा बच्चालाई आवश्यकताअनुसार स्तनपान गराउन कठिन हुने बताउनुहुन्छ । हरेक दुई÷दुई घण्टामा बच्चालाई स्तनपान गराउन जान समेत सम्भव नहुने हुँदा समस्या पर्ने गरेको उनको भनाइ छ ।

चितवन मेडिकल कलेज (सिएमर्सी) शिक्षण अस्पतालका बाल रोग विशेषज्ञ डा स्वेच्छा अधिकारी स्तनपान बच्चाको पहिलो र सबैभन्दा महत्वपूर्ण आहार भएको बताउनुहुन्छ । उनले भने, “यो केवल खाना मात्र होइन, रोगसँग लड्ने शक्ति दिने प्राकृतिक औषधि पनि हो ।”

स्तनपान बच्चा र आमा दुवैका लागि अमूल्य उपहार भएको बताउँदै डा अधिकारीले भने, “आमाको दूध सिधै स्तनबाट बच्चालाई दिइन्छ । यसमा कुनै तयारी गर्नु पर्दैन, तापक्रम पनि बच्चाका लागि उपयुक्त हुन्छ र यो पूर्ण रूपमा सङ्क्रमणमुक्त हुन्छ ।”

आमाको दूधमा बच्चाको रोगसँग लड्ने क्षमतालाई बढाउने तत्वहरू हुने जनाउँदै उनले स्तनपान गराइएका शिशुहरूको मस्तिष्क विकास अन्यको तुलनामा बढी राम्रो हुने जानकारी दिए । उनले भने, “आमाको दूधमा यस्तो तत्व हुन्छ जुन न्यूरोलोजिकल विकासमा सहयोग गर्छ, जुन गाई वा अन्य दूधमा हुँदैन ।”

बच्चालाई आमासँग नजिक हुनु, सुरक्षित महसुस हुनु र मायाको अनुभूति हुनु यहीँबाट सुरु हुने उनको भनाइ छ । डा अधिकारीले भने, “पूर्ण रुपमा स्तनपान गरेको बच्चामा एलर्जी, दम, पेटको सङ्क्रमण, मोटोपन, मधुमेह, उच्च रक्तचाप र मुटुको रोगहरू कम हुने सम्भावना हुन्छ ।”

बच्चालाई मात्रै नभएर स्तनपानले आमालाई पनि फाइदा हुने उहाँको भनाइ छ । डा अधिकारीका अनुसार बच्चा जन्मेपछि जब आमाले स्तनपान सुरु गर्छिन्, तब पेटभित्रको बच्चा बस्ने अङ्ग (गर्भाशय) खुम्चिन थाल्छ । यसले गर्दा धेरै रगत बग्ने सम्भावना घट्छ र आमाको शरीर चाँडै ठीक हुन मद्दत हुन्छ ।

स्तनपान प्राकृतिक गर्भनिरोधक हुने बताउँदै डा अधिकारीले क्यान्सरको जोखिम घटाउने बताए । भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा खेमप्रसाद पौडेलले स्तनपानका फाइदा बुझाउन आवश्यक रहेको बताए । नवजात शिशुलाई दुई वर्षसम्म स्तनपान गराउनुपर्ने उनले बताए । शिशुहरुको राम्रो बृद्धिविकासका लागि महत्वपूर्ण आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

कार्यालयमा अनिवार्य रुपमा स्तनपान कक्ष हुनुपर्ने, स्तनपान गराउने आमाहरुलाई अतिरिक्त समय व्यवस्थापन गरिदिनुपर्ने, आम नागरिकले आफ्नो ठाउँबाट स्तनपान गराउनका लागि सहयोग गरिदिनुपर्ने उनको सुझाव छ ।

Leave A Reply

Your email address will not be published.