सुचना, समाचार र मनोरन्जन

‘परालको आगो’ फिल्मको वर्कसप सुरु, सौगातदेखि प्रकाश सपुतसम्मको सहभागिता

काठमाडौं :

साहित्यकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’ मा आधारित नयाँ फिल्मको वर्कसप सुरु गरिएको छ। निर्माण पक्षले आइतबारदेखि फिल्ममा अभिनय गर्ने सबै कलाकारलाई सहभागी गराउँदै औपचारिक रूपमा वर्कसप सुरु गरेको हो।

वर्कसपमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी, रेणु न्यौपानेलगायत कलाकारको सहभागिता रहेको छ। उनीहरू आ-आफ्नो भूमिकालाई थप सशक्त बनाउन अभ्यासमा जुटिरहेका छन्।

फिल्मका निर्माता सुशील पोखरेल र लेखक सुशिल देवकोटा पनि वर्कसपमा सहभागी छन्। निर्माता पोखरेल फिल्मलाई ‘गज्जबको बनाउने’ मुडमा देखिएको बताइएको छ, जसका कारण उनी आफैं वर्कसपमा सक्रिय रूपमा सहभागी भएका छन्।

लक्ष्मण सुनारको निर्देशनमा बन्ने फिल्मका गीतमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको शब्द रहनेछ। संगीत संयोजन शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतले गर्नेछन्। उल्लेखनीय कुरा के छ भने निर्माण पक्षले दुई महिनाअघि संगीतकार शान्ति ठटाललाई उनको घरमै पुगेर अनुमति मागेको थियो।

फिल्मको छायांकन भदौ २६ गतेबाट म्याग्दीबाट सुरु हुने बताइएको छ। छायांकन निर्देशकमा संकल्प भुजेल, नृत्य निर्देशनमा रामजी लामिछाने, स्क्रिप्ट डक्टरिङमा सुलक्षण भारती, लेखनमा सुशिल देवकोटा र प्रोडक्सन म्यानेजरमा नगेन्द्र घिमिरे रहेका छन्।

यसअघि मैनालीको यही कथामा आधारित फिल्म ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले पनि बनाएका थिए, जुन सफल भएको थियो। नयाँ संस्करणको प्रदर्शन मिति भने निर्माण पक्षले हालसम्म तोकेको छैन।

Leave A Reply

Your email address will not be published.