पोखरा :
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीले भदौ २० र २१ गते पोखरा न्युरोडस्थित सिटी स्क्वायरमा ‘ईक्यान कास्की एजुकेसन फेयर’को आठौँ संस्करण आयोजना गर्ने भएको छ।
फेयरको मुख्य प्रायोजकका रूपमा टाइम्स एजुकेसनल पोखरा रहनेछ। बुधबार पोखरामा सम्पन्न ‘प्रायोजन तथा स्टल बिडिङ’ कार्यक्रममा मुख्य प्रायोजनसम्बन्धी सम्झौतामा ईक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैरे र टाइम्स एजुकेसनलका सञ्चालक प्रेम सुवेदीले हस्ताक्षर गरेका छन्।
ईक्यान कास्कीका सचिव सुरेन्द्र बरालका अनुसार, फेयरमा ५५ वटा स्टल रहनेछन्। कक्षा १२ पास गरेका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना हुने मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाउनेछन्।
संयोजक सन्तोष शाहीका अनुसार, अमेरिका, बेलायत, अष्ट्रेलिया, न्यूजिल्याण्ड, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, रुस, जापान, भारत, चीन, बंगलादेशलगायत देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
फेयरमा वैदेशिक अध्ययन, शिक्षण शुल्क, स्वास्थ्य बीमा, अध्यागमन प्रक्रिया, बसोबास, वातावरण तथा शिक्षा नीतिबारे जानकारी प्रदान गरिनेछ।
ईक्यान नेपाल सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट मान्यता प्राप्त शैक्षिक परामर्श संस्थाहरूको छाता संगठन हो। मन्त्रालयबाट आवश्यक स्वीकृति लिएर फेयरको आयोजना गरिएको ईक्यान कास्कीले जनाएको छ।