सुचना, समाचार र मनोरन्जन

दश वर्षपछि निर्देशनमा फर्किए निखिल,संचितासहितलाई लिएर लागे भारत

काठमाडौं :

अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो ड्रिम प्रोजेक्ट ‘आचार्य’को छायांकनको लागि भारत प्रस्थान गरेका छन्। मंगलबार निखिलसहितको निर्माण टिम काठमाडौंबाट पश्चिम बंगाल प्रस्थान गरेको हो।

प्राप्त तश्विरमा अभिनेता तथा निर्देशक निखिल उप्रेतीसँगै निर्मात्री अभिनेत्री सञ्चिता लुइँटेल,अभिनेत्री पुर्णिका सिंजापती, छायांकार मनु बिके र कलाकार समेत रहेका मुख्य सहायक निर्देशक सयनम अधिकारी देखिएका छन्। यहि भदौ ६ गते ( अगस्ट २२) शुक्रबारबाट ‘आचार्य’को छायांकन भारतको प्रसिद्ध ठाउँ ‘डुअर्स’बाट सुरू हुनेछ ।

डुअर्सबाट पहिलो चरणको छायांकन सुरू हुनेछ, सोहि सेड्यूअलमा बाग्डोरा, सिलिगुरी र ठाकुरगञ्जमा फिल्मको छायांकन हुनेछ निखिलले भने,‘दोस्रो चरणमा मुम्बई, नासिक र झारखण्ड र तेस्रो चरणमा यो फिल्मलाई नेपालमा खिचिनेछ । ६० दिनमा फिल्मको सम्पूर्ण छायांकन सम्पन्न गर्ने लक्ष्य राखेका छौं’।

यो फिल्ममा निखिल नै प्रमुख अभिनेता रहनेछन् भने अन्य कलाकारमा पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी छन् । फिल्ममा बलिउड र दक्षिण भारतीय चलचित्रहरूमा काम गरिसकेका केहि चर्चित कलाकारहरूको समेत अभिनय रहने चर्चा छ । यो विषयमा प्रश्न गर्दा निखिलले ‘आचार्य’सँग जोडिएका केहि सरप्राइज बाँकी रहेको र समयक्रममा सबै कुरा बाहिर आउँदै जाने बताए। निखिलले ‘आचार्य’लाई विश्वस्तरीय एक्सन फिल्म बताएका छन्। यहि फिल्मबाट अभिनेत्री सञ्चिताले कोरियोग्राफीमा डेब्यू गर्नेछिन्। नेपाली र हिन्दी भर्सनको एक गीतमा उनले कोरियोग्राफी गर्ने तय भएको छ।

यसअघि २०१५ मा रिलिज भएको फिल्म ‘भैरव’बाट निर्देशकीय यात्रा सुरू गरेका निखिलको निर्देशनमा बन्ने यो दोस्रो फिल्म हुनेछ। निखिल नेपाली फिल्ममा एक्सन स्टारको नामले चिनिँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.