काठमाडौँ :
चलचित्र ‘एन्जिला’बाट चर्चित बनेका बाल कलाकार ईनोभ गुरुङ र नमिक्षा मगर अभिनीत नयाँ म्युजिक भिडियो ‘रोधीघर’ सार्वजनिक भएको छ। भिडियोमा उनीहरूले गुरुङ र मगर समुदायको पहिरनमा कौडा नृत्य प्रस्तुत गरेका छन्।
भिडियोमा साहिल लिम्बू र रोजिना बस्नेतको स्वर, पदम साधना कुलुङ र विजय मगरको शब्द तथा साहिल स्वयंको संगीत रहेको छ। भिडिओ विजय मगरको निर्देशनमा तयार भएको हो भने छायांकन र सम्पादन सनम तामाङले गरेका हुन्।
भिडियोमा सुमिन गुरुङ, सिबु पाण्डे र चाहना मगरले पनि अभिनय गरेका छन्। निर्देशक मगरले भिडियोमार्फत बाल्यकालको प्रेम कथालाई चित्रण गरेका छन्। सन्जिला सुमित्राले कोरियोग्राफी गरेकी छन्।
ईनोभ गुरुङले कार्टुन क्रुजबाट नृत्य प्रशिक्षण लिएका छन् भने अभिनयमा गिरिराज घिमिरेलाई गुरु मान्छन्। उनी विभिन्न टिभिसी, लघु चलचित्र र स्टेज कार्यक्रममार्फत सक्रिय छन्।