सुचना, समाचार र मनोरन्जन

‘बलिदान’ नेपाली चलचित्रको लागि ऐतिहासिक उपलब्धि,अमेरिकाको एएमसी सिनेमा चेनमा प्रदर्शन हुने

काठमाडौं :

नेपाली चलचित्र ‘बलिदान’ अमेरिकाको सबैभन्दा ठूलो सिनेमा चेन एएमसी (AMC) मा प्रदर्शन हुने पहिलो नेपाली फिल्म बन्ने भएको छ। यस वर्षको दसैँको फूलपातीको दिन प्रदर्शन हुने यो चलचित्र अमेरिकाभर २०० भन्दा बढी हलमा एक हजारभन्दा बढी शो पाउने अपेक्षा गरिएको निर्देशक सन्तोष सेनले जानकारी दिए।

यसअघि कुनै पनि नेपाली चलचित्र एएमसी चेनमा प्रदर्शनमा गएको थिएन। ‘बलिदान’को प्रदर्शनसँगै नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय उपस्थिति जनाउने निर्देशक सेनको विश्वास छ। उनले भने, “यो नेपाली फिल्म उद्योगका लागि ऐतिहासिक मोड हो।”

सन्तोष सेनद्वारा निर्देशित चलचित्रमा समीर भट्टको मुख्य भूमिका रहेको छ। साथै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी र सन्तोष सेन स्वयंको समेत अभिनय रहेको छ। चलचित्र आशुसेन फिल्म्सको ब्यानरमा निर्माण भएको हो। पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता हुन्।

एएमसीसँगै चलचित्र अमेरिकाका अन्य प्रमुख सिनेमा चेनहरू सिनेमार्क,मार्कस र रेगलमा समेत प्रदर्शन हुने बताइएको छ। हालसालै सार्वजनिक भएका पोस्टर र टिजरले दर्शकमाझ उत्साह जगाएको छ। चलचित्र वृत्तमा ‘बलिदान’लाई नेपाली सिनेमा उद्योगको साहसी तथा निर्णायक कदमका रूपमा हेरिएको छ।

Leave A Reply

Your email address will not be published.