सुचना, समाचार र मनोरन्जन

पोखरामा इक्यान शैक्षिक मेला, ७० स्टलसहित भदौ २० र २१ गते आयोजना हुने

पोखरा : 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा पोखरामा हुने आठौं संस्करणको ‘इक्यान शैक्षिक मेला’मा ७० वटा स्टल रहने भएको छ। मेलामा करिब ५० वटा शैक्षिक परामर्श संस्था सहभागी हुने इक्यान कास्कीका उपाध्यक्ष तथा मेलाका संयोजक सन्तोष शाहीले जानकारी दिए।

मेलामा विभिन्न बैंक तथा वित्तीय संस्था, स्वदेश तथा विदेशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिसमेत सहभागी हुनेछन्। स्टलको माग बढेपछि संख्या विस्तार गरेर ७० पुर्याइएको शाहीले बताए।

भदौ २० र २१ गते सिटी स्क्वायर बैंक्वेट, पोखरामा सञ्चालन हुने मेलाको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले गर्ने कार्यक्रम रहेको इक्यान कास्कीका अध्यक्ष प्रकाश गैरेले जानकारी दिए।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर मेला आयोजना गरिएको हो। अष्ट्रेलिया, युके, क्यानडा, न्युजिल्याण्ड, युएसए लगायत देशका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयका प्रतिनिधिले मेलामा सहभागिता जनाउनेछन्।

विद्यार्थीहरूले एउटै स्थानमा विभिन्न देशका शैक्षिक प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी आफू जान चाहेको देशको शैक्षिक प्रक्रिया, भर्ना प्रणाली, छात्रवृत्तिबारे जानकारी लिन सक्ने  आयोजकको भनाइ छ।

Leave A Reply

Your email address will not be published.