सुचना, समाचार र मनोरन्जन

अमेरिकामा ‘नेपाली चलचित्र शृंखला’, सेप्टेम्बरमा चार नेपाली फिल्म प्रदर्शन हुने

मेरील्याण्ड :

अमेरिकाको मेरील्याण्डस्थित ग्रिनबेल्ट सिनेमा र नेपाल–अमेरिका फिल्म सोसाइटीको संयुक्त आयोजनामा ‘नेपाली चलचित्र शृंखला’ हुने भएको छ। आगामी सेप्टेम्बर महिनाभरि सञ्चालन हुने उक्त शृंखलामा चारवटा नेपाली चलचित्रहरू प्रदर्शन गरिने कार्यक्रम तय भएको छ।

शृंखलाको उद्घाटन सेप्टेम्बर ७ (आइतबार) दिउँसो १ बजे शंकर घिमिरे निर्देशित ‘तेलभिषा’ को स्क्रिनिङबाट हुनेछ। त्यसपछि सेप्टेम्बर १४ मा नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’, सेप्टेम्बर १७ मा जेरेमी पावर रेगिम्बल निर्देशित डकुमेन्ट्री ‘बिट्विन द माउन्टेन एन्ड द स्काई’, र अन्तिममा सेप्टेम्बर २० मा दीपक रौनियार निर्देशित ‘पूजा सर’ प्रदर्शन हुने कार्यक्रम तय गरिएको छ।

नेपाल–अमेरिका फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीका अनुसार, स्थानीय अमेरिकी सिनेमा हलको सक्रियतामा नेपाली फिल्महरूको नियमित शृंखला आयोजना हुनु सम्भवत: पहिलोपटक हो।

ग्रिनबेल्ट सिनेमाकी कार्यक्रम संयोजक लुसी कोर्टेजले भने, “फिल्म फेस्टिवलका सहकार्यभन्दा अलग, यो मासिक शृंखला नेपाली सिनेमा अमेरिकी समुदायसँग प्रत्यक्ष बाँड्ने विशेष अवसर हो। यसले सांस्कृतिक विविधता र अन्तर्राष्ट्रिय फिल्मप्रतिको रुचिमा नयाँ आयाम थप्ने विश्वास छ।”

नेपाल–अमेरिका फिल्म सोसाइटीले आगामी दिनमा अमेरिकाका अन्य सहरहरूमा पनि यस्ता मासिक चलचित्र शृंखलाको योजना बनाइरहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.