सुचना, समाचार र मनोरन्जन

‘नेपाल आइडल’ सिजन ६ की विजेता गंगा सोनामको यस्तो छ सपना

काठमाडौं :
सिन्धुपाल्चोककी गंगा सोनामले सांगीतिक रियालिटी शो नेपाल आइडल सिजन ६ को उपाधि जितेकी छन्। उनले उपाधिसँगै नगद २५ लाख रुपैयाँ पुरस्कार हात पारिन्।

इन्द्रावती गाउँपालिका–१०, भोटसिपामा जन्मिएकी गंगा अडिसन राउन्डदेखि नै फरक प्रस्तुतिका कारण दर्शक र निर्णायकको ध्यान तानेकी थिइन्। पश्चिम नेपालमा गाइने देउडा भाका “हिमाल हिउँ पडिगयो…” गाएर उनले ‘गोल्डेन टिकट’ जितेकी थिइन्। निर्णायक न्ह्यु बज्राचार्य, कालिप्रसाद बाँस्कोटा र अन्य निर्णायकहरूले उनको प्रस्तुतिलाई ‘भावनात्मक र मौलिक’ भनेर प्रशंसा गरेका थिए।

आफ्नो सांगीतिक यात्रा सुरु गर्न काठमाडौं आएकी गंगाले सुरुवाती चरणमा दाजु दीपेन्द्र सोनामको सहयोग र हौसलाबाट प्रेरणा लिएको बताइन्छ। दाजु स्वयं संगीत क्षेत्रमा सक्रिय छन्।

उनको जितमा सिन्धुपाल्चोकका पूर्वमन्त्री, सांसद, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको सक्रिय सहयोग रह्यो। गंगालाई जिताउन गाउँघरदेखि सामाजिक सञ्जालसम्म अभियान नै सञ्चालन गरिएको थियो।

नेपाल आइडलको मञ्चबाट सफलता चुमेपछि गंगाले भनिन्, “अबको यात्रामा अझ मिहिनेत गरेर संगीतमा स्थापित हुने लक्ष्य लिएको छु।”

गंगाले यसअघि रेकर्ड गरिएको ‘बोलबोटम’ बोलको गीतमार्फत डिजिटल माध्यममा समेत लोकप्रियता कमाएकी छन्। अहिले उनको गीतहरू सामाजिक सञ्जालमा लाखौंले हेरेका छन्।

Leave A Reply

Your email address will not be published.