म्याग्दी,
म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट गाउँ पहिरोको जोखिममा परेको छ ।
ओखरबोटको बस्तिमाथिको खानीडाडाँबाट खसेको पहिरोले तीन घरमा क्षति पुर्याएको छ भने थप २५ घर जोखिममा परेका हुन्। स्थानीयवासी चन्द्रबहादुर पटेलले साँझ खाना खाएर आफन्तकहाँ गएर सुत्ने गरेको बताए ।
“पाखोबाट खसेको पहिरोले तीन वटा घरको छानो भत्काएको छ”, उनले भने, “थप पहिरो खस्ने जोखिम भएकाले सुरक्षित ठाउँमा भएको आफन्तकहाँ गएर बस्न थालेका छौँ ।” पहिरोले चन्द्रबहादुर, खड्गबहादुर र मोतिसरा पटेलको घरको छानो भत्काएको छ।
बस्तीदेखि करिब १०० मिटर रहेको पाखोबाट पहिरो खस्न थालेको छ । चन्द्रबहादुर, खड्गबहादुर र मोतिसरासहित, सुशीला पटेल, शान्ति पटेल, दिपक पटेल र भोजमाया विकका परिवार विस्थापित भएका छन् ।
वडासदस्य भीमसरा पुनका अनुसार घर भत्किएका र उच्च जोखिममा रहेका सात परिवारलाई अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । जोखिममा रहेका २० भन्दा बढी घरपरिवार त्रासमा छन् ।
मालिका गाउँपालिकाको कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले गत शुक्रबार गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनसहितको टोलीले पहिरोको स्थलगत निरीक्षण गरी क्षति भएका घरपरिवारलाई खाद्यान्न र अस्थायी बसोबासको व्यवस्था मिलाएको बताए ।
पहिरो नियन्त्रणका लागि ग्यावियन पर्खाल निर्माणको तयारी गरेको र प्रदेश सरकारसँग पनि समन्वय गरेको कार्यपालिका सदस्य खड्काथोकीले बताए । पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा गएका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सतर्कता अपनाउन अनुरोध गर्दै पहिरोको समस्यालाई दीर्घकालीन समाधानका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए ।
गाउँ नजिकै रहेको ओखरबोट माविको सबै भवन पहिरोले भत्काएपछि किमबोटमा अस्थायी संरचना बनाएर स्थानान्तरण गरिएको छ । चाररचार कोठे दुई वटा पक्की, ढुङ्गा, माटो र काठले बनेको १७ कोठे कच्ची भवन, शौचालय, घेराबार र खेलमैदान पहिरोसँगै बगेको विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पबहादुर विकले बताए । उनका अनुसार पहिरोले विद्यालयमा रु तीन करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको छ ।