सुचना, समाचार र मनोरन्जन

विश्व रेबीज दिवस–२०२५ः पोखरामा सामुदायिक कुकुरमा रेबीज विरुद्धको खोप अभियान सुरु

पोखरा,

विश्व रेबीज दिवस–२०८२ को अवसरमा असोज ८ गते बुधबारदेखि पोखरा महानगरपालिकाभित्रका सबै वडामा सामुदायिक कुकुरलाई रेबीज विरुद्धको खोप लगाउने अभियान औपचारिक रुपमा सुरु गरिएको छ। नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेश, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको यो अभियान असोज ११ गतेसम्म निरन्तर सञ्चालन हुने जनाइएको छ।

उद्घाटन कार्यक्रममा नेपाल भेटेरिनरी एशोसिएसन, गण्डकी प्रदेशका अध्यक्ष डा. रुपेश श्रेष्ठले रेबीज रोग विश्वव्यापी रूपमा खतरनाक र प्राणघातक मानिए पनि खोपमार्फत यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिने बताए। उनका अनुसार, “रेबीज खोपले कुकुरलाई मात्र सुरक्षित बनाउँदैन, यसले मानव स्वास्थ्यलाई पनि प्रत्यक्ष रुपमा जोगाउँछ।” उनले सामुदायिक स्तरमा सञ्चालन हुने अभियानले मानव–पशु दुवैको जीवन रक्षा गर्ने विश्वास व्यक्त गरे। त्यस्तै, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कास्कीका प्रमुख शम्भु राज पाण्डेले रेबीज नियन्त्रणलाई दीर्घकालीन रुपमा सुनिश्चित गर्न समुदायमै खोप कार्यक्रम आवश्यक रहेको बताए। उनले महानगरका प्रत्येक नागरिकलाई सक्रिय सहयोग र सहभागितामार्फत अभियानलाई सफल बनाउन समेत आग्रह गरे।

पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख डा. पवन पाण्डेले महानगरले सामुदायिक कुकुर व्यवस्थापन र खोप अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाउँदै , सामुदायिक कुकुरलाई खोप लगाउँदा समुदाय सुरक्षित हुने र मानव–पशु सहअस्तित्व सहज हुने बताए। उनले महानगरले आगामी दिनमा पनि यस्ता अभियानलाई प्राथमिकतामा राख्ने बताए। यसअघि पनि पोखरामा विभिन्न संस्थाहरूको सहकार्यमा रेबीज नियन्त्रणका कार्यक्रमहरू सञ्चालन भएपनि यस वर्षको अभियानलाई अझ व्यापक र प्रभावकारी बनाइएको आयोजकले जनाएका छन्। अभियानले पोखरा महानगरपालिकाभित्रका वडामा रहेका सामुदायिक कुकुरलाई लक्षित गर्नेछ र असोज ११ सम्ममा हजारौं संख्यमा सामुदायिक कुकुरलाई खोप लगाउने लक्ष्य राखिएको छ। रेबीज रोग अझै पनि नेपालमा सार्वजनिक स्वास्थ्यका दृष्टिले चुनौतीपूर्ण मानिन्छ।

विश्व स्वास्थ्य संगठन (WHO) का तथ्यांक अनुसार, नेपाल लगायत विश्वभरि हरेक वर्ष हजारौं मानिस रेबीजको कारण मृत्यु हुने गर्छन्, जसमा अधिकांश संक्रमण कुकुरबाट हुने गरेको छ। सन् २०३० सम्म कुकुरमार्फत हुने रेबिजको कारण मानव मृत्यु शून्यमा झार्ने लक्ष्यलाई नेपालले पनि आत्मसाथ गरेको छ। पोखरामा सुरु भएको यो अभियान सोही विश्वव्यापी प्रयाससँग प्रत्यक्षरूपमा जोडिएको छ।

Leave A Reply

Your email address will not be published.