सुचना, समाचार र मनोरन्जन

धार्मिक यात्राको पुण्य सामाजिक सेवामा जोड्दै योगेश गुरुङ्ग

सहाराका क्लबको लागि ७० हजार सहयोग

पोखरा,

धार्मिक यात्राका क्रममा भएको खर्चबाट बचत गरिएको रकम सामाजिक सेवामा समर्पण गर्दै यूके निवासी योगेश गुरुङले सहारा क्लबलाई ७० हजार रुपैयाँ सहयोग गरेका छन्।

गुरुङ नेतृत्वको टोलीले धार्मिक यात्राबाट बचत गरेको ६० हजार रुपैयाँ सहारा क्लबलाई प्रदान गरेको हो। त्यसमा गुरुङले व्यक्तिगत रूपमा थप १० हजार रुपैयाँसमेत सहयोग गरेका छन्। क्लबले आयोजना गर्न लागेको देउसी–भैलो कार्यक्रमलाई लक्षित गरी गरिएको उक्त सहयोग हालै सहारा एकेडेमीमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो।

धर्म र संस्कृतिसँगै सामाजिक उत्तरदायित्वलाई पनि जोड्दै आएका गुरुङ यूकेको डाइमण्ड बुद्धिष्ट सेन्टरका संस्थापक महासचिव तथा निवर्तमान अध्यक्ष हुन्। उनी भूम्दिकोट यूकेका अध्यक्ष, तमुधिँ यूकेका सल्लाहकार तथा सहारा यूकेका पूर्वसल्लाहकारसमेत हुन्।

सहयोग रकम ग्रहण गर्दै सहारा क्लबले सामाजिक तथा मानवीय सेवामा गुरुङ नेतृत्वको टोलीले देखाएको सद्भावप्रति आभार व्यक्त गरेको छ।

नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षणसँगै विपन्न तथा असहाय बालबालिकाको भविष्य निर्माणलाई पनि प्राथमिकता दिँदै आएको सहारा क्लबले हरेक वर्ष देउसी–भैलो कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि क्लबका सदस्य तथा विभिन्न कलाकारहरूको सहभागितामा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।

देउसी–भैलोबाट संकलित रकम क्लबद्वारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा आश्रित बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र फुटबल प्रशिक्षणमा खर्च गरिनेछ।

विदेशमा रहेर पनि नेपाली कला, संस्कृति र सामाजिक सेवासँग जोडिने अभियानलाई निरन्तरता दिँदै आएको गुरुङ नेतृत्वको टोलीको सहयोगले सहारा क्लबको मानवीय अभियानलाई थप बल पुग्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.