काठमाडौँ :
वरिष्ठ गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘जोवनै ढल्की गएसी’ सार्वजनिक भएको छ। हरिभक्त बुढाथोकी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा मेलिना राई र टेक बी.सीको स्वर, भीम बी.सीको संगीत रहेको छ।
गीतको भिडियोमा सलोन बस्नेत, टेक बी.सी र बिनिता ओलीको अभिनय छ भने नवराज उप्रेतीले छायांकन, विवेक सुनारले सम्पादन र सान थापाले निर्देशन गरेका छन्। भिडियो सिर्जना मिलन विश्वकर्माले गरेका हुन्।
८६ वर्षीय बुढाथोकी नेपाली साहित्य, गीत–संगीत र समाजसेवामा दिगो योगदान पुर्याउँदै आएका छन्। उनले ‘प्यारो बाबा’, ‘बुढेसकाल’, ‘संघर्ष’, ‘मुटुमै गाँसेको साइनो’, ‘जिन्दगी हौ तिमी मेरो’ लगायतका चर्चित गीतहरू लेखिसकेका छन्। त्यस्तै पतञ्जलि योग गान र रोटरी गान समेत उनका सिर्जनामा पर्दछन्।
साहित्यकारको रूपमा उनी तेरथुम जिल्लाका पहिलो नाटककार (बसन्त कोपिला), नेपालीमा ड्राइभिङ्गसम्बन्धी पुस्तकका पहिलो लेखक तथा पत्रिकाका सम्पादक/प्रकाशक समेत रहेका छन्। दर्जनभन्दा बढी पुस्तकका लेखक बुढाथोकी शैक्षिक र सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन्।
गीतको प्रकाशनसँगै संगीतप्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरिएको छ।