सुचना, समाचार र मनोरन्जन

बाबुराम भट्टराईद्धारा पार्टीको अध्यक्ष पद त्याग

काठमाडौँ,

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको अध्यक्ष पद त्याग गरेको घोषणा गर्नुभएको छ ।

आज यहाँ पत्रकार सम्मेलन गरी अध्यक्ष भट्टराईले परिवर्तित राजनीतिक सन्दर्भमा नयाँ पुस्ताले अब मुलुकको नेतृत्व गर्नुपर्ने महसुस गरी नेसपा (नयाँ शक्ति) को अध्यक्ष पदबाट अलग भएको स्पष्ट गरे ।

डा भट्टराईले भन्नुभयो, “राजनीतिक दलभित्र पुस्तान्तरण अपरिहार्य छ । नयाँ शक्ति र युवा पुस्ताका लागि मार्ग प्रशस्त गर्न आवश्यक रहेकाले पार्टीको अध्यक्ष पदबाट अलग भएको छु । तर, वैकल्पिक शक्ति निर्माण र समाज रूपान्तरणको अभियानलाई निरन्तरता दिन सदैव लागि रहने छु ।”

उनले सुशासनका पक्षमा भएको ‘जेनजी’ युवाहरुको आन्दोलन जायज भए पनि केही नेता र बाहिरी शक्तिले त्यसलाई बदनाम गर्न खोजेको बताए । भ्रष्ट नेतामाथि कारबाही हुनुपर्ने माग उठिरहेको सन्दर्भलाई इङ्गित गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले भने, “त्यसका लागि युवा पुस्ताबाट देशव्यापी रुपमा दबाब सिर्जना गर्न आवश्यक छ, भ्रष्ट जो कोही पनि कानुनको दायरामा आउनुपर्दछ ।”

उहाँले भन्नुभयो, “अध्यादेशमार्फत संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने र निर्वाचन तथा शासकीय प्रणालीमा सुधार नगरे मुलुक थप जटिलतामा फस्ने छ, त्यसतर्फ सम्बद्ध सबैको ध्यान जान जरुरी छ ।”

नेसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री भट्टराईले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा संस्थागत सहभागितासहित ‘जेनजी’ युवाहरुले देशको नेतृत्व लिनसक्नुपर्न धारणा व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.