सुचना, समाचार र मनोरन्जन

शेयर बजार आज २२ दशमलव ५९ अङ्कले बढ्यो

लगातार २ दिन उच्च अङ्कले घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ५९ अङ्कले बढेर २ हजार ५ सय ८२ दशमलव १८ विन्दुमा पुगेको छ । शेयर बजार हिजो र अस्ति गरी २ दिनमा १ सय ३ अङ्कले घटेको थियो ।

आज नेप्से बजार खुलेको ३ मिनेटमै १ सय २ अङ्क अर्थात् ४ प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक लागेपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो । हिजो राष्ट्र बैंकले शेयर धितो कर्जामा २५ करोड रुपैयाँको सीमा खारेज गर्ने निर्णय गरेसँगै आज बजार खुल्नेबित्तिकै लगानीकर्ताहरूमा उत्साह देखिएको थियो । तर सर्किट ब्रेकपछि बजार खुल्दा नेप्सेको वृद्धि २२ अङ्कमा खुम्चिन पुग्यो ।

आज व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज २ सय वटा कम्पनीको शेयर बढेको छ भने ४१ वटाको घटेको छ । यस्तै १० वटा कम्पनीको शेयर घटबढ भएन ।

आज विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर सबैभन्दा धेरै ८ दशमलव २१ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने ९ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब ७६ करोडको कारोबार भएकोमा आज ३ सय १३ वटा कम्पनीका १ करोड १८ लाख कित्ता शेयर ५ अर्ब २७ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave A Reply

Your email address will not be published.