सुचना, समाचार र मनोरन्जन

हराउँदै धान कुट्ने ओखल

 

 

जुम्ला : जुम्लामा धान कुट्ने ओखल हराउन थालेको छ। अहिले अधिकांश क्षेत्रमा मिल स्थापना भएपछि जिल्लाका प्रायः गाउँबस्तीमा परम्परागत ओखल लोप भएका हुन्।

 

Pach Pandav

ओखल, ढिकीमात्र हैन जाँतो पनि गाउँघरमा विरलै रूपमा पाइने गरेको तिला गाउँपालिका- ४ का स्थानीय राजकन्या सार्कीले बताइन्। ‘पहिला नौ गाउँका स्थानीयका लागि नौ वटा धान कुट्ने ओखल नुवाकोटमा थियो। अहिले गाउँका स्थानीयले मात्र ओखलमा धान कुट्ने गर्छन्। अरु गाउँका कोही पनि आउँदैन’, उनले भनिन्।

 

सार्कीले आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै गाउँमा ओखलमा धान कुट्ने प्रचलन हराउँदै जान थालेको बताइन्। ‘पहिला ओखलमा कुट्ने गरिन्थ्यो, अहिले मिलमा लैजान्छौँ। समयको पनि बचत हुने भएकाले मिलमा धान कुट्नेको सङ्ख्या बढेको छ’, उनले बताइन्।

 

हाल कुटानी-पिसानीका ठाउँठाउँमा मिल सञ्चालनमा आएसँगै ओखल देख्नै मुस्किल हुन थालेको छ। ओखलमा धान कुट्दा श्रम गर्नुपर्ने बढी लाग्नुका साथै समय र खर्च पनि बढी लाग्ने भएकाले यसको प्रचलन हट्दै गएको तिला–४ का वडाध्यक्ष भद्रवीर सार्कीले बताए।

 

कुनै समय जिल्लामा धान कुट्न प्रयोग गरिँदै आइएको टिक्के ओखल हराउँदै गएपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्। आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएपछि यहाँका ग्रामीण गाउँबस्तीमा ओखल हराउँदै गएको यहाँका स्थानीयवासी बताउँछन्।

Leave A Reply

Your email address will not be published.