सुचना, समाचार र मनोरन्जन

चलचित्र ‘पीआर’ मंसिर २६ गतेदेखि प्रदर्शनमा, शोभित बस्नेतको निर्देशनमा युवाको सपना र संघर्षको कथा

काठमाडौं :

निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको नयाँ नेपाली चलचित्र ‘पीआर’ मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले काग तिहारको अवसर पारेर फिल्मको रिलिज मिति सार्वजनिक गरेको हो।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रमा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, म्याक्स गणेश बुढाथोकी, कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा छन्।

फिल्ममा प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथा प्रस्तुत गरिएको छ। निर्माण पक्षका अनुसार *‘पीआर’*ले विदेशिने नेपाली युवाको सपना, त्यसभित्रका चुनौती र यथार्थ पक्षलाई मुख्य विषयवस्तु बनाएको छ।

चलचित्रको लेखन गणेश बुढाथोकीले गरेका हुन् भने सम्पादन बन्दे प्रसादले गरेका हुन्। संगीत मानस राज र भिम बीसीको रहेको छ। नृत्य निर्देशन राम्जी लामिछानेले गरेका छन्।

निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल रहेका यस चलचित्रको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन्। फिल्मको छायांकन सौरभ मानन्धर र सौरभ लामाले गरेका हुन्।

फिल्मबारे निर्देशक बस्नेतले भने, “पीआर नेपालका युवाको सपना र संघर्षको कथा हो। यसमा रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाइनेछ।” चलचित्र  ‘पीआर’को वितरण आर आर फिल्म्सले गर्नेछ।

Leave A Reply

Your email address will not be published.