सुचना, समाचार र मनोरन्जन

काठमाडौंपछि ‘वरिष्ठ बलराम’को टिम दर्शक भेट्न मोफसलमा

काठमाडौं :

तिहारको भाइटीकाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्र ‘वरिष्ठ बलराम’ अहिले देशभर उत्साहजनक अकुपेन्सीसहित प्रदर्शन भइरहेको छ। राजधानीमा उत्कृष्ट व्यापार गरिसकेपछि कलाकार र निर्देशकको टोली अब मोफसलका दर्शक भेट्न पुगेका छन्।

काठमाडौंमा दर्शकसँगको साक्षात्कार सम्पन्न गरेपछि निर्देशक सुरेन्द्र पौडेल, कलाकार विजय बराल र समृद्धि अर्याल पश्चिम नेपालतर्फ दर्शक भेट्न निस्किएका हुन्। चलचित्र टिम अहिले विभिन्न हलमा पुगेर प्रत्यक्ष रूपमा दर्शकको प्रतिक्रिया लिइरहेको छ।

निर्देशक पौडेलका अनुसार, “दर्शकहरूले नेपाली मौलिक कथा र सशक्त अभिनयका कारण ‘वरिष्ठ बलराम’लाई हेर्नैपर्ने चलचित्रको रूपमा लिएका छन्। धेरै शोहरू हाउसफूल छन्, र हाउसफूल नभएका शोहरूमा पनि ७० प्रतिशतभन्दा माथिको अकुपेन्सी देखिएको छ।”

राजधानीदेखि मोफसलका हलसम्म दर्शकको भीड बढ्दै जाँदा चलचित्रको वर्ड अफ माउथ पनि बलियो बनेको छ। राम्रो समीक्षासँगै धेरै हलहरूले शनिवारका लागि अतिरिक्त शोसमेत थपेका छन्।

दयाहाङ राई र विजय बराल अभिनीत यस चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको चलचित्रमा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारको अभिनय छ।

चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै हो भने पटकथा महेश दवाडीले लेखेका हुन्। निर्मातामा आशिष एच. तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी. धामी र पुष्कर बी. घिमिरे छन्। छायांकन मनकृष्ण महर्जन, संगीत प्रशान्त सिवाकोटी, एक्सन निर्देशन सम्राट बस्नेत र नृत्य निर्देशन प्रदीप लामोले गरेका छन्। चलचित्रलाई उपत्यकाभित्र डीसीएन र बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको हो।

Leave A Reply

Your email address will not be published.