सुचना, समाचार र मनोरन्जन

छठ पर्वमा सार्वजनिक भयो ‘परिवर्तन’को टिजर, देश परिवर्तनको सन्देश

काठमाडौं :

आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित फिल्म **‘परिवर्तन’**को टिजर सार्वजनिक गरिएको छ। छठ पर्वको अवसर पारेर निर्माण टिमले टिजर रिलिज गर्दै दर्शकबीच देशभक्ति र युवाको जिम्मेवारीको सन्देश पु-याउने प्रयास गरेको हो।

टिजरमा देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोधमा युवाहरूको विद्रोही आवाज झल्किन्छ। अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देखाइएको छ, जो समाज परिवर्तनको अभियानमा अग्रसर पात्रका रूपमा प्रस्तुत छन्।

यसअघि प्रायः सोझी र गाउँले भूमिकामा देखिएकी अभिनेत्री अञ्जना बराईली यसपटक प्रहरी इन्सपेक्टरको दमदार भूमिकामा देखा परेकी छन्। उनी इमान्दार र जिम्मेवार प्रहरीको रूपमा प्रस्तुत भएकी छन्। त्यस्तै, अभिनेता बुद्धि तामाङले प्रहरी हवल्दारको भूमिका निर्वाह गरेका छन्।

टिजर सार्वजनिक कार्यक्रममा सुशील श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर लगायत कलाकारहरूको उपस्थिति थियो। कार्यक्रममा बोल्दै निर्माता तथा कथा लेखक दिपक शिवाकोटीले भने, “अबको परिवर्तन युवाबाटै सम्भव छ। हाम्रो फिल्मले यही सन्देशमार्फत समाजमा सकारात्मक चेतना जगाउनेछ।”

विजय केरुङ निर्देशित फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल र आयुषा कार्की लगायतका कलाकारले अभिनय गरेका छन्।

निर्देशक केरुङका अनुसार, ‘परिवर्तन’ले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई पर्दामा उतार्नेछ। अभिनेता सुशील श्रेष्ठले पनि फिल्मप्रति गहिरो उत्साह व्यक्त गर्दै यसलाई आफ्नो करियरको विशेष प्रोजेक्ट बताएका छन्।

फिल्ममा शिवम अधिकारीको लेखन, एस.डी. योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।
फिल्मको वितरण आर.आर. फिल्म्सले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर रहेको छ।

Leave A Reply

Your email address will not be published.