काठमाडौं :
आगामी कार्तिक १४ गतेदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित फिल्म ‘परान’को प्रचार–प्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छन्। उनी आज (सोमबार) बिहान ११ः१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिन्।

विमानस्थलमा ‘परान’का निर्देशक दीपक आचार्यले अभिनेत्री चन्दलाई स्वागत गरे। नेपाल आइपुगेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले लामो १८ घण्टाको यात्रा फिल्मका क्लिप्स हेर्दै बिताएको बताइन्। फिल्म प्रचारका लागि करिब एक महिना नेपालमा रहने योजना रहेको उनले जानकारी दिइन्।
पूजाले भनिन्, “‘परान’ मेरो लागि एकदमै विशेष फिल्म हो। प्रमोसनका लागि पूर्ण समय दिनेछु। पारिवारिक कथामा बनेको यो फिल्म सबैको मन जित्नेमा म विश्वस्त छु। साथै, निर शाहज्यूसँग काम गर्न पाउनु मेरो लागि ठूलो खुसी हो।”
‘सक्किगोनी’ फेम दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको ‘परान’ उनको पहिलो निर्देशकीय फिल्म हो। फिल्ममा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, अञ्जना बराइली, प्रविण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई तथा बाल कलाकार आर्यदीप आचार्यले अभिनय गरेका छन्।
फिल्ममा रिदम कँडेलको संगीत, प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर रहेको गीतहरू छन्। छायांकन शिवराम श्रेष्ठले गरेका हुन् भने सम्पादन मित्र डी. गुरुङले गरेका छन्। ‘परान’लाई बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो, जुन गोल्छा ग्रुप र प्रिज्मा ग्रुपको संयुक्त लगानीमा स्थापना भएको कम्पनी हो। ठूला व्यवसायिक समूहको लगानी र चर्चित कलाकारहरूको सहभागिताले गर्दा फिल्मप्रति दर्शकको अपेक्षा उच्च रहेको छ।