सुचना, समाचार र मनोरन्जन

महानगर धुलोमुक्त बनाउँदै कामपा

काठमाडौँ,

काठमाडौँ महानगरपालिकाले गौरवको योजनाअन्तर्गत सहरलाई धुलोमुक्त बनाउने कार्यलाई तीव्र बनाएको छ ।

उक्त कार्यअन्र्तगत पछिल्लो समय बिग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान धमाधम भइरहेको कामपाको धुलोरहित सडक कार्यक्रम पश्चिम क्षेत्रका फोकल पर्सन, वरिष्ठ इञ्जिनियर माधव काफ्लेले जानकारी दिए ।

कामपा वडाबाट आएको मागका आधारमा काम गरिने ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत पश्चिम क्षेत्रमा करिब ८ किलोमिटर सडक सुधार योजना कार्यान्वयन थालिएको छ ।

Pach Pandav

इञ्जिनियर काफ्लेका अनुसार लामो समयदेखि स्वामित्व विवादमा रहेको बालाजु बाइपासबाट बालाजु उद्यान हुँदै बालाजु चोकसम्मको एक हजार १६० मिटर लामो सडक पनि कालोपत्रे हुनेछ । स्थानीयबासीले आफ्नो नामको जग्गा सडकमा रहेको दावी गरिरहेको यो विवादित सडक खण्डको करिब १९० मिटर सडक गएको महिना कालोपत्रे गरिएको छ । यो सडक खण्डमा ९ मिटरदेखि १४ मिटरसम्मको चौडाइ छ ।

बालाजु सडकसँगै विष्णुमती कोरिडोरअन्तर्गत वडा नम्बर १३, १४, १५ र १६ क्षेत्र, कुलेश्वर टेकु सडक, भगवती मन्दिर (कुमारी क्लव), कुलेश्वर लिङ्क मार्ग, शितला स्कुलबाट नागरिक बजार चोक (जामाचो मार्ग) सोह्रखुट्टे– पकनाजोल, चाक्सीबारीबाट जेपी चोकसम्म, कुलेश्वर–फलफूल बजार, बालाजु हाइटको गणेश मन्दिरबाट नागार्जुन पर्खालसम्म, शितला मार्गबाट पहिरा लिङ्क मार्ग, उमा महेश्वर मार्ग, रवि भवन मार्ग, बल्खुको सर्भिस ट्रयाकसहितका सडकमा काम हुनेछ ।

पूर्वाधार सुधार धुलोरहित सहर बनाउने कामपाको ‘धुलोरहित सडक’ कार्यक्रम ३ वर्षसम्म सञ्चालन हुने बहुवर्षीय योजना हो । यसका लागि हरेक वर्ष करिब रु १ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

यस कार्यका लागि कामपाको भौगोलिक क्षेत्रलाई ४ भागमा विभाजन गरेर हरेक क्षेत्रका लागि एउटा प्याकेज बनाइएको छ । यसअन्तर्गत पूर्व क्षेत्रमा वडा नं ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडा पर्छन् । पश्चिम क्षेत्रमा वडा नम्बर १३, १४, १५ र १६ पर्छन् । उत्तर क्षेत्रमा वडा नं १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन् ।

मध्य क्षेत्रमा भित्री वडाहरू, वडा नं ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब रु ४५ करोड लागत अनुमान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.