Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘ग्लोबल डान्स लिग’मा नेपालको ऐतिहासिक सफलता: १६ राष्ट्रलाई पछि पार्दै ३ स्वर्णसहित ४ पदक
- घोडाबाट लडेको विजय बराल दरिए, सुटिङ सुरु भयो ‘सिन्दुरे जात्रा’
- टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन–२’मा गौरी मल्लको प्रवेश
- ‘ल्याङ्ग ल्याङ्ग’मा सन्तोष बानियाँको एन्ट्री
- एन्डी बर्नह्याम बने बेलायतका ५९औं प्रधानमन्त्री
- उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य
- देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका: प्रधानमन्त्री शाह
- बुधबारदेखि क्रमशः वर्षा कम हुँदै जाने
- रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर
- ‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह
मङ्सिर पहिलो साता अन्तरराष्ट्रिय कर सम्मेलन हुने
काठमाडौँ,
नेपाल चेम्बर अफ ट्याक्स कन्सलटेन्ट्सको आयोजनामा आगामी मङ्सिर २ गतेदेखि ५ गतेसम्म काठमाडौँमा अन्तरराष्ट्रिय कर सम्मेलन आयोजना हुने भएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र सुधारको उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको बताए ।
“सम्मेलन विशेषगरी नेपालको कर प्रणालीको विकसित रुप प्रदर्शन गर्ने, नेपाली कर व्यवसायीहरुलाई अन्तरराष्ट्रियस्तरका विशेषज्ञसँग जोड्ने र नेपाललाई ‘माइस’ गन्तव्यका रुपमा प्रवर्द्धनमा केन्द्रित हुनेछ”, उनले भने । उनका अनुसार सम्मेलनमा ३५० जना अन्तरराष्ट्रिय प्रतिनिधि र २०० भन्दाबढी नेपालका कर व्यवसायी, नीतिनिर्माता, सरकारी अधिकारी, व्यवसायी तथा विज्ञहरुको सहभागिता रहनेछ ।
सम्मेलनले नेपालको कर र वित्त व्यवसायीहरुको क्षमता अभिवृद्धि, कर नीति र अनुपालनामा अन्तरराष्ट्रिय अभ्यास आदनप्रदान र सञ्चार प्रवर्द्धन गर्नेमा अपेक्षा गरिएको छ । यसमार्फत नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन तथा कर र लगानीका क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्य विस्तारमा सहयोग पुग्ने अध्यक्ष पोखरलले बताए ।
सम्मेलनमा विकासशील देशहरुको कर प्रणालीको ऐतिहासिक विकास, उदाउँदो अर्थतन्त्रमा कर नीति कार्यान्वयनका चुनौतीहरु, विश्वव्यापी कर अनुपालनामा कर व्यवसायीको भूमिका, कर प्रशासनमा डिजिटल रुपान्तरणका अवसर र चुनौती, विकासशील अर्थतन्त्रमा कर व्यवसायीहरुको आचारसंहिता र व्यावसायिक दायित्वलगायतका विषयमा बहस हुनेछ ।
सम्मेलनको आकर्षणका रुपमा मङ्सिर ५ गते आन्तरिक राजस्व विभागसँगको सहकार्यमा ‘प्राक्टिकल एस्पेक्ट अफ ट्रान्सफर प्राइसिङ’ विषयमा चार घण्टा लामो सेमिनार आयोजना हुनेछ ।
सम्मेलन एसिया–ओसियान ट्याक्स कन्सलटेन्ट्स एशोसिएसनको समन्वयमा सञ्चालन हुनेछ । नेपाल चेम्बर अफ ट्याक्स कन्सलटेन्ट्स सन् २०१८ मा स्थापना भएको हो । संस्थाले नेपालमा करसम्बन्धी नीतिगत अध्ययन, कर विज्ञको प्रवर्द्धन, प्रचलित अन्तरराष्ट्रिय कर अभ्यासको विश्लेषण, कर व्यवसायीको संस्थागत विकास तथा करसम्बन्धी निकायसँग सहकार्य र समन्वय गर्दै आएको छ ।