सुचना, समाचार र मनोरन्जन

सातौ स्थापना दिवसको अवसरमा खुमा अर्याल फाउन्डेसनले गर्यो बृहत् स्वास्थ्य शिविर

शिविरबाट ७ सय २७ जना लाभान्वित

स्याङ्जा,

खुमा अर्याल फाउन्डेसन स्याङ्जाले बृहत् स्वास्थ्य शिविर एवम् रक्तदान कार्यक्रम गरि सातौ स्थापना दिवस मनाएको छ । फाउन्डेसनले स्याङ्जाको चापाकोट नगरपालिका ४ स्थित मल्याङ्कोट स्वास्थ्यचौकी दार्सिङमा चापाकोट नगरपालिकाको समन्वय, गण्डकी मेडिकल कलेज पोखरा र नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा बृहत् स्वास्थ्य शिविर गरि शुक्रबार आफ्नो स्थापना दिवस मनाएको हो ।

शिविरबाट ७ सय २७ जना स्थानिय बासिन्दाहरु लाभान्वित भएका छन । सेवा लाभ प्राप्त गर्नेहरुमा विशेषगरी चापाकोट नगरपालिकाका वडा न३, ४, र ५, त्यस्तैगरी बिरुवा गाउपालिका ६ र हरिनाश गाउपालिका ५ का बासिन्दाहरु रहेका छन ।

शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा मधु रोका, वरिष्ठ रेडियोलोजिस्ट डा केशव शर्मा , वरिष्ठ नाक कान, घाँटी रोग विशेषज्ञ डा सन्जय कोइराला, स्त्रीरोग विशेषज्ञ डा बिनिता शर्मा, वरिष्ठ हाडजोर्नी, बाथ तथा छाला रोग विशेषज्ञ डा इश्वर कडेल, छाला रोग विशेषज्ञ डा रक्षा पाठक, वरिष्ठ दन्त रोग विशेषज्ञ डा उज्ज्वल कोइराला, बाल रोग विशेषज्ञ डा सन्दीप पोख्रेल र जनरल सर्जन डा आनन्द भट्टराई लगायतका वरिष्ठ स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए।

यस्तै, जटिल समस्या भएका बिरामीहरुका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको छ भने रिफर गरिएका बिरामिहरुका लागि औषधिमा ५ प्रतिशत र सेवामा २० प्रतिशत सम्म छुट दिइने जनाइएको छ । शिविरमा महिलाहरुको पाठेघरको क्यान्सरको लागि विशेषज्ञ परिक्षण एवम् भिडियो एक्स रे, मुटुको भिडियो एक्स रे, इको, इ सि जि तथा प्रयोगशाला सेवा समेत उपलव्ध रहेको थियो । यसैगरी, आजै आयोजित रक्तदान कार्यक्रममा पनि रक्तदान गर्नेहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

खुमा फाउन्डेसन विगत सात वर्ष देखि सामाजिक कार्यमा सक्रिय रहदै आएको छ । हरेक वर्ष फाउन्डेसनले स्थापनाको अवसरमा मंसिर ५ मा विभिन्न रचनात्मक र राहत मुलक कार्यक्रमहरु आयोजना गरेर दिवस मनाउदै आएको छ ।

शिविरको उद्घाटन गर्दै चापाकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाण ईश्वरले खुमा अर्याल फाउन्डेसनले चापाकोट नगरपालिकामा आएर स्थानिय बासिन्दालाई स्वास्थ्य सेवामा सकारात्मक सहयोग र सेवा दिएकोमा धन्यवाद व्यक्त गरे । उनले सामाजिक कार्यमा खुमा अर्याल फाउन्डेसनले लिइरहेको गति र समाज प्रतिको जिम्मेवारीबोध र दायित्व प्रशंसा योग्य रहेको समेत बताए ।

कार्यक्रममा वरिष्ठ उद्यमि तथा फाउन्डेसनका संस्थापक खुमा प्रसाद अर्यालले सबैको साथ र सहयोगले सामाजिक कार्यमा जुट्नको लागि थप हौसला र प्रेरणा मिलिरहेको बताए । उनले पालिका लगायत सबै समन्वयकर्ताहरुलाई धन्यवाद समेत दिएका थिए ।

कार्यक्रममा नगर उप प्रमुख इशा राना, फाउन्डेसनकी संस्थापक परिवार डाक्टर लुना अर्याल, चापाकोट नगरपालिका वडा न ४ का वडा अध्यक्ष अर्जुन कुमार खाण, गण्डकी मेडिकल कलेज पोखराका कृष्ण पौडेल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाका सभापति दिनेश अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

फाउन्डेसनका अध्यक्ष लेखनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष छविलाल अर्याल दिपकले स्वागत एवम् सचिव ध्रुव शर्माले संचालन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.