सुचना, समाचार र मनोरन्जन

रक्तदानलाई प्रवर्द्धन गर्दै पोखराका एफएम रेडियो

 

 

गण्डकी : पोखराबाट सञ्चालित रेडियो अन्नपूर्ण र एभरेस्ट एफएमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् । स्थापनाकालदेखि रक्तदान कार्यक्रम गर्दै आएको रेडियो अन्नपूर्णले अहिलेसम्म २३औँ पटक रक्तदान कार्यक्रम गरिसकेको छ ।

 

उक्त कार्यक्रमले समुदायमा रक्तदानसम्बन्धी चेतना अभिवृद्धिमा टेवा पुगेको रेडियो अन्नपूर्णले जनाएको छ । रेडियो अन्नपूर्णले वार्षिकोत्सवको अवसर पारेर बर्सेनि चैतको तेस्रो साता बहत् रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । उक्त रेडियोले गरेको रक्तदान कार्यक्रममा हालसम्म आठ हजारभन्दा बढी युनिट रगत सङ्कलन भएको जनाइएको छ ।

 

पछिल्लो समय एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले पनि रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । उक्त एफएमद्वारा शनिबार पोखरामा आयोजित बृहत् रक्तदान कार्यक्रममा १५१ युनिट रगत सङ्कलन भएको जनाइएको छ । ‘म त रक्तदान गर्दैछु, तपाईं नि ?’ भन्ने सन्देशसहित आयोजित रक्तदान कार्यक्रममा १२७ पुरुष र २४ जना महिलाले रक्तदान गरेका हुन् ।

 

रक्तदान कार्यक्रममा १६ जना पहिलो रक्तदातासमेत सहभागी भएका एभरेस्ट मिडिया हाउसले जनाएको छ । एभरेस्ट मिडिया हाउसका प्रमुख दीपेन्द्र श्रेष्ठले आफू स्वस्थ रहेको प्रमाणित गर्दै अर्काको जीवन बचाउने अभियानअन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

 

सो अवसरमा रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदान गर्दा रक्तदातालाई पनि फाइदा हुने र अरुको जीवन पनि बचाउन सकिने भएकाले स्वस्थ व्यक्तिलाई यसमा सहभागी हुन आग्रह गरे । एभरेस्ट एफएमले रक्तदानसँगै सचेतना कार्यक्रम गरेर समाजमा रक्तदानप्रतिको धारणा सकारात्मक बनाउन महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

 

रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की, सशस्त्र प्रहरी बलको कालिका गण मालेपाटन, एवन ग्रेटर नेपाल यातायात प्रालि, बालकल्याण संस्था, शीतलाज्योति युवा क्लबलगायत सङ्घसंस्थाको सहभागिता थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग थियो ।

 

जीवनदानसरह मानिने रक्तदानको संस्कृतिलाई प्रवर्द्धन गर्न, रक्तदानबारे समुदायमा सकारात्मक सन्देश दिन रेडियोले भूमिका खेलिरहेका हुन् । रक्तदानसँगै यससम्बन्धी प्रचारात्मक र सन्देशमूलक कार्यक्रम पनि रेडियोले सञ्चालन गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.