सुचना, समाचार र मनोरन्जन

एआईको प्रभावमाथि जनप्रिय क्याम्पसका विद्यार्थीको बहस

पोखरा, 
गण्डकी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था जनप्रिय बहुमुखी क्याम्पसले आफ्नो ३४ औँ वार्षिकोत्सवलाई केवल औपचारिकतामा सीमित नराखी बौद्धिक विमर्श र सिर्जनात्मक उत्सवका रूपमा मनाएको छ ।

वार्षिकोत्सव सप्ताहअन्तर्गत बुधबार क्याम्पसको सभाहलमा समसामयिक विश्व परिवेशलाई समेट्ने वक्तृत्वकला र विद्यार्थीको भावना पोख्ने खुल्ला कविता प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।

प्रतियोगिताको सबैभन्दा सबल पक्ष भनेको वक्तृत्वकलाका लागि चयन गरिएको विषयवस्तु थियो । विश्वव्यापी रूपमा चर्चा र बहसको शिखरमा रहेको ‘कृत्रिम बुद्धिमत्ता एआईको बढ्दो प्रयोगः शिक्षा, रोजगार र समाजमा प्रभाव’ विषयमा प्रतियोगी विद्यार्थीहरूले आआफ्ना तार्किक विचारहरू प्रस्तुत गरेका थिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष एवम् क्याम्पस सञ्चालक समितिका सदस्य विशिष्ट अतिथि पुष्पराज सिग्देलले गोलाप्रथाद्वारा उक्त समसामयिक शीर्षक चयन गरेका थिए । सिग्देलले प्रविधिले ल्याएको चुनौती र अवसरलाई सभ्य र मर्यादित भाषाशैलीमा विश्लेषण गर्न विद्यार्थीहरूलाई सुझाएका थिए । यो विषय चयनले क्याम्पस प्रशासन विद्यार्थीलाई विश्वव्यापी मुद्दाहरूमा अद्यावधिक राख्न चाहन्छ भन्ने कुराको पुष्टि गर्दछ ।

उक्त एआई केन्द्रित वक्तृत्वकला प्रतियोगितामा रितबहादुर थापाले प्रथम स्थान हासिल गरे भने चाँदनी श्रेष्ठ द्वितीय र ईश्वर पोखरेल तृतीय हुन सफल भए । यसैगरी, साहित्य र भावनाको संगम मानिने ‘खुल्ला कविता प्रतियोगिता’ तर्फ सृष्टि लामिछाने प्रथम भइन् । प्रतियोगितामा उत्सव भुसाल द्वितीय र जमुना गैरे तृतीय हुँदा प्रमोद रिजालले सान्त्वना स्थान प्राप्त गरे ।

प्रतियोगिताको निष्पक्ष मूल्याङ्नका लागि पूर्व सहायक क्याम्पस प्रमुख राजेन्द्र पौडेल, नेपाली विभाग प्रमुख एवम् अतिरिक्त कार्यक्रम संयोजक गोपालप्रसाद बराल र अङ्ग्रेजी विभाग प्रमुख टंकराज बराल निर्णायक मण्डलमा रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् क्याम्पस प्रमुख कृष्णबाबु बरालले ३४ वर्षको इतिहास बोकेको जनप्रिय क्याम्पसले सधैँ विद्यार्थीको नेतृत्व क्षमता विकासलाई प्राथमिकतामा राखेको बताए । बरालले भने, ‘विद्यार्थीहरूको सघन र सक्रिय सहभागिताले कार्यक्रमको औचित्य पुष्टि गरेको छ । उच्च शिक्षापछि आफ्नो क्षेत्र पहिचान गरी अब्बल साबित भएर क्याम्पसको गरिमा उच्च राख्न सम्पूर्ण विद्यार्थीहरूलाई आग्रह गरे ।

सहायक क्याम्पस प्रमुख नवीनराज खनालले विजयी विद्यार्थीहरूलाई बधाई दिँदै पुरस्कार वितरणको कार्यतालिका सार्वजनिक गरे । खनालका अनुसार, आगामी मङ्सिर २३ गते मङ्गलबार आयोजना हुने स्नातक तह प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरूको स्वागत कार्यक्रमका बीच विजयीहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ ।

दश जोड दुई कार्यक्रम संयोजक गणेश चालिसेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कार्यक्रमका संयोजक उपप्राध्यापक सुरेश रानाभाटले गरेका थियो भने समय व्यवस्थापनको भूमिका राजेन्द्र श्रेष्ठले निर्वाह गरेको सहायक प्रशासक महादेवकुमार पालिखेले जानकारी दिए ।

यस किसिमका अतिरिक्त क्रियाकलापले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन हुनुका साथै उनीहरूमा तार्किक क्षमता र साहित्यिक अभिरुचि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्लेषण गरिएको छ ।

Leave A Reply

Your email address will not be published.