काठमाडौं :
अभिनेता राजेश हमाल बुधबार पाकिस्तानी दूतावास पुगे। औपचारिक भ्रमण नभए पनि उनी त्यहाँ एक विशेष भावनात्मक कारणले पुगेका थिए—पाकिस्तानमा रहेका बेला आफ्ना दिवंगत बुबा चुडाबहादुर हमालसँग नजिकबाट संगत भएका पूर्वकूटनीतिज्ञ जलिल अब्बास जिलानी (अब्बानी) सँग भेट गर्न।
हमालले भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। जिलानी अहिले पाकिस्तानका पूर्वविदेशमन्त्री तथा विदेश सचिवका रूपमा परिचित छन्। उनी त्यही व्यक्ति हुन्, जसले तत्कालीन नेपाली राजदूत चुडाबहादुर हमालसँग औपचारिकदेखि अन्तिम क्षणसम्म साथ दिएका थिए।
बुवाको अन्तिम यात्रासँग जोडिएका स्मृति
दुवैबीचको भेटमा अत्यन्त भावनात्मक प्रसंगहरु स्मरण गरियो। राजदूतका रूपमा ओहदाको प्रमाणपत्र बुझाएर निवास फर्कँदा कूटनीतिक प्रोटोकलअनुसार जिलानी (अब्बानी) समेत सँगै आएका थिए। त्यही दिन निवासको सिँढीमा हृदयाघात भएर राजदूत हमाल भुइँमा पछारिएका थिए। जिलानीले तत्कालै अस्पतालतर्फ लगिएको भए पनि बाटैमा उनका बुवाको निधन भएको थियो।
त्यसपछि राजदूत हमालको शव पाकिस्तानबाट नेपाल ल्याइ परिवारको जिम्मा लगाउने जिम्मेवारी पनि जिलानीले नै सम्हालेका थिए। पछि उनी विदेश सचिव हुँदै विदेशमन्त्रीसम्म बने।
आत्मिक राहतको अनुभूति
राजेश हमालले केही समयअघि प्रकाशित आत्मकथा ‘युगदेखि युगसम्म’ र एक अन्तर्वार्तामा बुवासँगको सम्बन्धबारे उल्लेख गरेका थिए, विशेषगरी जीवनको उत्तरार्धमा बोलचाल दूरी बनेको कुरासहित।
जिलानीसँगको भेटमा पाकिस्तानी राजदूत अबरार ए. हाश्मी पनि उपस्थित थिए। भेटपछि फेसबुकमा प्रतिक्रिया व्यक्त गर्दै हमालले लेखे—
“पाकिस्तानका पूर्वपरराष्ट्रमन्त्री जलिल अब्बास जिलानीसँग भेट्दा धेरै खुशी लाग्यो। मेरा बुबाले प्रमाणपत्र बुझाउँदादेखि उहाँ बित्दासम्म श्री जिलानी साथमा हुनुहुन्थ्यो। यो अवसरका लागि पाकिस्तानका महामहिम राजदूतलाई धन्यवाद। श्री जिलानीसँगको भेटले बुबासँगको सम्बन्धमा केही राहत दिलायो।”
हमालको यो भेटले एक दशकभन्दा पुरानो पारिवारिक पीडा र कूटनीतिक इतिहासलाई फेरि एकपटक भावनात्मक रूपमा उजागर गरेको छ।