काठमाडौं :
हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले निर्देशन गरेको आगामी फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर आइतबार सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अधिकांश मुख्य कलाकारहरूलाई उनी–उनीकै क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ।
नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा बनेको फिल्मबाट अभिनेता गणेश उप्रेती लामो अन्तरालपछि पर्दामा फर्किंदै छन्। अमेरिकामा बस्दै आएका उप्रेती विशेषरूपमा यस फिल्मका लागि नेपाल आएका हुन्। फिल्ममा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे ‘पाँडे’, प्रियना आचार्य ‘मुन्नी’, अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईको उपस्थितिसमेत छ।
फिल्ममार्फत कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले अभिनय डेब्यु गरेका छन्। बाल कलाकारमा दिप्सन चिलवाल छन्। एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामाले विशेष उपस्थिति जनाएका छन्।
निर्देशक घिमिरेकै कथा रहेको फिल्मका पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन्। बुद्ध थापा छायांकार रहेको फिल्मकी निर्मात्री अनिशा सेन्दाङ लिम्बु हुन्। सह–निर्मातामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की छन्। फिल्मका लाइन प्रोड्युसर योगेश खतिवडा र विनोद कँडेल हुन्।