काठमाडौं :
चलचित्र ‘रोल नं. १’ को छायांकन म्याग्दीबाट औपचारिक रूपमा सुरु भएको छ। दुई हप्ता लामो वर्कसप सम्पन्न गरेपछि निर्माण टिम सोमबारदेखि छायांकनमा खटिएको हो।
करिब डेढ महिनाको छायांकन सेड्युल रहने चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल र निर्भिक रेग्मी मुख्य भूमिकामा छन्।
चलचित्रको लेखक तथा निर्देशक जोन योञ्जन हुन्। उनका अनुसार फिल्मले ‘भ्रम र सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीमा पर्न जाने अत्यधिक मनोवैज्ञानिक दबाब’लाई केन्द्रमा राखेर कथा अघि बढाउनेछ। समाजमा बनेको— “सबैलाई जित्नैपर्छ, नजिते इज्जत रहँदैन, कक्षाको प्रथम नै विद्वान् र बाँकी मुर्ख”—जस्ता सोचलाई फिल्मले प्रश्न गर्नेछ।
यसअघि सार्वजनिक फर्स्टलुक पोस्टरमा कक्षाकोठामा एक बालक हात उठाइरहेको दृश्य प्रस्तुत गरिएको थियो, जहाँ निलो सर्ट लगाएका अन्य विद्यार्थी, अगाडिको कालोपाटी र नजिकै उभिएकी एक शिक्षिकाले कक्षाको वातावरण झल्काउँथ्यो।
फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त शिवाकोटीको संगीत र शिवराम श्रेष्ठको सिनेमाटोग्राफी (DOP) रहनेछ। चिफ एडी फिरोड खड्का, प्रोडक्सन डिजाइनर कला संग्रौला, प्रोडक्सन हेड मनोज जोशी र सम्पादक मदन घिमिरे रहेका छन्।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं कार्यकारी निर्माता छन्। निर्माता पौडेलकै निर्माणमा तयार भएको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ यही मंसिर १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।