सुचना, समाचार र मनोरन्जन

यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा

 

काठमाडौं : यस वर्षको प्रि-मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि-मनसुन याममा नेपालमा औसत २२६ दशमलव तीन मिलिमिटर पानी पर्दछ ।

 

यस वर्ष भने औसतको १४५ दशमलव पाँच प्रतिशत अर्थात् ३३९ दशमलव सात मिलिमिटर पानी परेको विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए ।

 

यसैबीच पछिल्लो २४ घण्टामा झापाको अनारमनी विर्तामा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सो क्षेत्रमा रहेको वर्षा मापन केन्द्रमा २०८ मिलिमिटर वर्षा (अति भारी वर्षा) भएको मापन गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए । उनका अनुसार २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा मापन गरिन्छ । झापा क्षेत्रमा पछिल्लो केही दिनदेखि लगातार वर्षा भइरहेको छ ।

 

झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले पछिल्लो केही दिन सीमित क्षेत्रमा खण्डवृष्टि भइरहेको जानकारी दिँदै त्यसको ठूलो क्षति वा असरका बारेमा भने अहिलेसम्म जानकारी नआएको राससलाई बताए । सो क्षेत्रबाट मनसुन भित्रिने सँघारमा रहेको विभागले जनाएको छ ।

 

त्यस्तै इलाम, मोरङ, सुनसरी, सिन्धुलीका केही मापन केन्द्रहरूमा पनि भारी वर्षा मापन भएको छ । तर, यसपाली सीमित क्षेत्रमा वर्षा भइरहेको छ । यता पश्चिम क्षेत्रको कास्की लमजुङ गोरखाका केही मापन केन्द्रमा समेत भारी वर्षा मापन भएको छ ।

 

सन् १९८१ देखि १२६ वटा वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधार मानी प्रि-मनसुनको विश्लेषण गर्दै आएको र सोही क्रममा यसपाली ४५ वर्षयताकै बढी वर्षा भएको हो ।

Leave A Reply

Your email address will not be published.