पोखरा,
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि पोखरा ९,नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ बुधबार देखि सुरु भएको छ । ५ दिनसम्म चल्ने मेलाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे ।
उद्घाटनको क्रममा उनले नेपालमा केही हुँदैन भन्ने भाष्य चिर्न जरुरी रहेको पनि बताए । नेपालकै पूँजीले पनि धेरै ठूला आयोजना बनाउन सकिने बताउँदै उनले त्यसका निम्ति नेपाल उद्योग वाणिज्य महासंघले १० अर्ब पूँजीको लगानी कम्पनी बनाएको बताए ।
‘हाम्रै पूँजीबाट ठूलो लगानी गर्न सकिन्छ । महासंघले बनाएको कोषबाट कुनै व्यवसायीले सुरु गरेको व्यवसायमा थप लगानी गर्न पनि मिल्छ, नयाँ उद्यमीहरुलाई लगानी जुटाइदिने काम पनि हुन्छ,’उनले भने,‘ नेपालमा ठूला पूर्वाधार बनाउनका लागि नेपाल डेभलपमेन्ट पब्लिक (एनडिपी) बनाइएको जानकारी दिए । एनडिपीकै माध्यमबाट धेरै व्यवसायी समेटेर नेपालकै पूँजी परिचालन गरी ५० अर्बका प्रोजेक्ट बनाउन थालिएको छ ।’
उनले स्थानीय कच्चा पदार्थको प्रयोग, स्थानीय उत्पादनलाई बढावा दिँदामात्र अर्थतन्त्र उकासिने पनि बताए । जेन–जी आन्दोलनको क्रममा व्यवसायीमाथि भएको आक्रमणको निन्दा गर्दै उनले त्यसमा संलग्नहरुलाई कारवाहीको लागि महासंघले प्रधान र गृहमन्त्रीसँग विशेष पहल गरेको दाबी पनि गरे । महासंघले निजी क्षेत्रलाई सुरक्षा प्रबन्ध गर्नका निम्ति जिल्ला–जिल्लामा रहेको सुरक्षा समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराएको पनि उनको भनाइ थियो ।
त्यस्तै महोत्सवको दोस्रो दिन बिहिबार भजन चुट्का बालन नाच लगायतका सांस्कृतिक कार्यक्रम रहेको आयोजकले जनाएको छ।