सुचना, समाचार र मनोरन्जन

अमेरिकाको म्युजियम अफ द मुभिङ इमेजमा ‘एक्लो’ को ऐतिहासिक प्रिमियर

काठमाडौं :

नेपाली फिचर फिल्म ‘एक्लो’ अमेरिकाको न्यूयोर्कस्थित प्रतिष्ठित म्युजियम अफ द मुभिङ इमेज (MoMI) मा आगामी डिसेम्बर २८ मा ऐतिहासिक प्रिमियर गर्न लागेको छ। हलिउडका प्रमुख चलचित्र र विश्वप्रसिद्ध कलाकारहरूको स्क्रिनिङ हुने यो स्थलमा पहिलोपटक नेपाली फिल्मलाई स्थान मिलेको हो।

यसअघि क्रिस्टोफर नोलन, मार्टिन स्कोर्सेजी, मार्वेल स्टुडियोज, ब्राड पिट, लियोनार्डो डिक्याप्रियो, टम ह्याङ्क्स र मेरिल स्ट्रिपका प्रोजेक्टहरू मात्र विशेष स्क्रिनिङमा प्रस्तुत हुँदै आएका थिए। MoMI ले न त नेपाली फिल्म, न बलिउड चलचित्रको प्रिमियर आयोजना गरेको इतिहास छ।

‘एक्लो’ को प्रिमियरमा निर्देशक प्रदीप शाही, अभिनेता प्रदीप खड्का, विजय लामा, अभिनेत्री वेनिशा हमाल र कविता नेपाली उपस्थित रहनेछन्। निर्देशक शाहीले यस्तो विश्वस्तरीय हलमा प्रदर्शन हुनु नेपाली सिनेमाका लागि महत्वपूर्ण सम्मान भएको बताए।

साइ–फाइ जनरामा बनेको ‘एक्लो’ पुस १७ गतेदेखि नेपालसहित विश्व बजारमा रिलिज हुन लागेको छ। बेलायतमा बस्दै आएका निर्देशक शाहीको यो तेस्रो निर्देशन हो। फिल्मलाई हलिउडस्तरको भिजुअल र प्रविधियुक्त प्रस्तुति दिने लक्ष्यसहित निर्माण गरिएको बताइएको छ।

चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरीलगायत धेरै कलाकारको अभिनय रहेको छ। साथै बेलायती अभिनेता जेमी बेकन पनि महत्वपूर्ण भूमिकामा छन्।

एनआरएन समूहको लगानीमा बनेको फिल्ममा कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ छन्। छायांकन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ ले सम्हालेका छन्।

MoMI मा प्रिमियर पाउनुले ‘एक्लो’ ले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्‍याएको उद्योगले मूल्यांकन गरेको छ।

Leave A Reply

Your email address will not be published.