पोखरा,
पोखराको मुटुमा अवस्थित जनप्रिय बहुमुखी क्याम्पस यतिबेला एउटा ऐतिहासिक दोबाटोमा उभिएको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त र विश्वविद्यालय अनुदान आयोग बाट २ पटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त शैक्षिक धरोहरले यही मङ्सिर २६ गते नयाँ नेतृत्व चुन्दैछ। ५१७ जना प्राज्ञिक सिनेटरहरूले मत हाल्ने यो निर्वाचन केवल व्यक्तिको छनोट मात्र होइन; यो जनप्रियको भविष्य, यसको सामुदायिक चरित्र र ३४ वर्षे गरिमाको रक्षाको सवाल पनि हो।
यही निर्णायक घडीमा, क्याम्पसको ३४ वर्षे इतिहासका साक्षी र निरन्तरका सहयात्री विष्णुप्रसाद बरालले २७ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनको छेको पारेर अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गरी एउटा सशक्त बहसको सिर्जना गरेका छन्। राजेन्द्र पहारीसँगको प्रतिस्पर्धामा होमिएका बरालको उम्मेदवारीलाई धेरैले पदभन्दा पनि प्रवृत्ति विरुद्धको विद्रोहका रूपमा अर्थ्याएका छन्।
को हुन् विष्णुप्रसाद बराल ?
विष्णुप्रसाद बरालको परिचय केवल एउटा सामाजिक संस्थाको पूर्वअध्यक्ष वा क्याम्पसका पूर्वसभासदमा मात्र सीमित छैन। उनि पोखराको सामाजिक, आध्यात्मिक र मानवअधिकार आन्दोलनका एक सात्विक योद्धा हुन्।
पोखराको प्रतिष्ठित संस्था सिर्जना विकास केन्द्रको नेतृत्व गरिसकेका र हाल सल्लाहकार रहेका बराल आनन्दमार्गका केन्द्रीय अध्यक्ष समेत हुन्। आनन्दमूर्तिले प्रतिपादन गर्नुभएको नब्यमानवतावादलाई जीवन पद्धति बनाएका बरालको मूलमन्त्र नै छ “भित्र शान्ति, बाहिर समृद्धि।”
नागरिक समाजको अगुवाइ, उपभोक्ता हकहितको वकालत र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) को गण्डकी प्रदेश अध्यक्षको जिम्मेवारीले उनको सामाजिक उचाइ र निष्पक्ष छविलाई प्रष्ट पार्छ। हालै बङ्गलादेशको ढाकामा सम्पन्न १५औँ सामाजिक व्यवसाय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरेर फर्केका बराल शिक्षा र व्यवस्थापनमा विश्वव्यापी दृष्टिकोण राख्छन् ।
विगत ३४ वर्षदेखि जनप्रिय क्याम्पसको सभासद्, कार्यसमिति सदस्य र सल्लाहकारका रूपमा अविछिन्न सेवा गरेका बरालले क्याम्पसको हरेक इँटा थपिँदाको सङ्घर्ष देखेका छन् । उनी भन्छन् “मेरो उम्मेदवारी पदका लागि होइन, ३४ वर्षदेखि मैले रगत र पसिना बगाएको यो संस्थालाई शैक्षिक व्यापारिक केन्द्र हुनबाट जोगाउनका लागि हो।”
क्याम्पसको सङ्कट: नाफा कि सेवा ?
जनप्रिय बहुमुखी क्याम्पसको स्थापनाको मूल उद्देश्य नै गरिब, विपन्न र सीमान्तकृत समुदायका छोराछोरीलाई सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिनु थियो। तर, वर्तमान नेतृत्व र प्रशासनले “घाटामा गयो” भन्ने नितान्त व्यापारिक तर्क अघि सार्दै ३४ वर्ष पुरानो मानविकी तथा सामाजिक शास्त्र सङ्कायको स्नातक तह बन्द गर्ने निर्णय गर्यो।
यो निर्णयले क्याम्पसको सामुदायिक चरित्रमाथि नै प्रश्नचिह्न खडा गरेको छ। विष्णुप्रसाद बरालको उम्मेदवारीको मुख्य जग नै यही मुद्दा हो। उनी तर्क गर्छन “सामुदायिक क्याम्पस भनेको नाफा कमाउने सुपरमार्केट होइन, यो त सरस्वतीको मन्दिर हो। यहाँ नाफाघाटाको होइन, ज्ञान र सेवाको हिसाब हुनुपर्छ। मानविकी सङ्काय बन्द गर्नु भनेको क्याम्पसको इतिहास र समुदायको विश्वासमाथि गरिएको कुठाराघात हो।”
बरालको विश्लेषणमा, यो कदम क्याम्पसको विधान र नियमावली विपरीत त छँदै छ, साथै यसले दूरदराजबाट आउने विपन्न विद्यार्थीको उच्च शिक्षाको ढोका बन्द गरिदिएको छ।
सुशासनको अभाव र संस्थागत विचलन
बाहिरबाट हेर्दा क्याम्पसले प्रमाणपत्र नवीकरणको तयारी गरिरहेको देखिए पनि भित्रभित्रै संस्थागत सुशासन कमजोर बन्दै गएको बरालको निष्कर्ष छ। क्याम्पसभित्र मौलाएको चरम राजनीति, गुटबन्दी, र तजविजी शैलीले मेरिटोक्रेसी (योग्यता प्रणाली) लाई निलेको छ।
नीतिगत निर्णयहरूमा अपारदर्शिता बढ्नु, प्रशासनिक अकर्मण्यता हावी हुनु र नियुक्ति तथा अवसरहरूमा मोलाहिज्जा हुनुले १२९ जना प्राध्यापक र ३६ जना कर्मचारीहरूको मनोबल गिराएको छ। बराल प्रश्न गर्छन् “क्युएएको प्रमाणपत्र भित्तामा झुन्ड्याएर मात्र के अर्थ, जबसम्म कक्षाकोठामा गुणस्तर र प्रशासनमा पारदर्शिता हुँदैन ?”
विष्णुप्रसाद बरालको एजेण्डा सुधारको रोडम्याप
बरालले आफ्नो चुनावी घोषणापत्रमा केवल समस्या मात्र औँल्याएका छैन, समाधानको स्पष्ट रोडम्याप पनि प्रस्तुत गरेका छन्। उनका एजेण्डाहरू भावुक मात्र छैनन्, वस्तुपरक र कार्यान्वयनयोग्य छन्।
मानविकी सङ्कायको तत्काल पुनर्बहाली: उनको पहिलो र मुख्य एजेण्डा नै मानविकी सङ्कायलाई ब्युँताउनु हो। यसलाई बन्द गर्ने होइन, समयसापेक्ष परिमार्जन गरेर, नयाँ विषयहरू थपेर र प्रविधिसँग जोडेर सञ्चालन गर्ने उनको योजना छ।
नतिजामुखी व्यवस्थापनको नयाँ अभ्यास
बरालको सबैभन्दा बलियो र आधुनिक एजेण्डा भनेको क्याम्पसलाई परम्परागत ढर्राबाट मुक्त गरी ‘नतिजामा आधारित व्यवस्थापन प्रणालीमा लैजानु हो। अहिलेसम्म क्याम्पस प्रक्रियामुखी मात्र भयो, जसले गर्दा फाइलहरू सदर हुन्छन् तर गुणस्तरमा सुधार हुँदैन।बरालको भिजन छ “हामीले प्रक्रिया पुर्याउने मात्र होइन, नतिजा निकाल्ने शिक्षा दिनुपर्छ। अबको प्रशासन चुस्त, दुरुस्त र डिजिटल गभर्नेन्समा आधारित हुनेछ, जहाँ हरेक प्राध्यापक र कर्मचारीको कार्यसम्पादनलाई नतिजासँग जोडेर मूल्याङ्कन गरिनेछ।”
अस्तव्यस्तताको अन्त्य र विसङ्गति विरुद्धको प्रहार
बाहिर क्युएएको प्रमाणपत्र झुन्ड्याए पनि भित्र प्रशासनिक अकर्मण्यता, चरम राजनीति र गुटबन्दीले क्याम्पसलाई गाँजेको छ। क्याम्पस राजनीतिक दलको भ्रातृ सङ्गठनको क्रीडास्थल जस्तो बनेको छ। बरालको स्पष्ट अडान छ कि प्राज्ञिक थलोलाई राजनीतिक हस्तक्षेपमुक्त क्षेत्र बनाइनुपर्छ।
उनी दृढतापूर्वक भन्छन्, “राजनीतिको टोपी क्याम्पसको गेटबाहिर फुकालेर मात्र भित्र छिर्ने संस्कारको विकास म गर्नेछु। यहाँभित्रको अस्तव्यस्तता, विकृति र बेथितिलाई सङ्गतिमा रूपान्तरण गरी क्याम्पसलाई गतिशील र क्रियाशील बनाउनु मेरो पहिलो कर्तव्य हुनेछ।”
नब्यमानवतावाद र मूल्यमा आधारित व्यवस्थापन
शिक्षा भनेको केवल प्रमाणपत्र बाँड्नु मात्र होइन, असल मानिस निर्माण गर्नु हो। बरालले नब्यमानवतावादको दर्शनलाई क्याम्पसको शैक्षिक क्यालेन्डरसँग जोड्ने योजना बनाएका छन्। संस्कार, अनुशासन र नैतिक शिक्षा बिनाको जनशक्ति समाजका लागि प्रत्युत्पादक हुन्छ भन्ने उनको ठम्याइ छ।
बरालकोजोड मूल्यमा आधारित व्यवस्थापन मा छ। “हामीले यस्तो जनशक्ति उत्पादन गर्नुपर्छ जोसँग श्रमबजारलाई चाहिने सीप पनि होस् र हृदयमा करुणा तथा नैतिकता पनि होस्,” बराल भन्छन्।
सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता: आध्यात्मिक पृष्ठभूमिबाट आएका बरालको सबैभन्दा ठूलो शक्ति नै उनको सदाचारिता र नैतिकता हो। उनले क्याम्पसमा हुने कुनै पनि प्रकारको आर्थिक र नीतिगत भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता को नीति लिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सामाजिक व्यवसाय मोडेल: बङ्गलादेशको ढाका भ्रमणबाट आर्जन गरेको ज्ञानलाई प्रयोग गर्दै क्याम्पसको आर्थिक स्रोत जुटाउन विद्यार्थीको शुल्क बढाउने होइन, ‘सामाजिक व्यवसायका नवीन उपायहरू खोज्ने उनको भिजन छ। यसले क्याम्पसलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनेछ।
प्राज्ञिक वातावरण र कर्मचारीको सम्मान: क्याम्पसलाई राजनीतिको क्रीडास्थल बन्न नदिई, प्राध्यापक र कर्मचारीको वृत्तिविकास र सम्मानजनक सेवा सुविधाको ग्यारेन्टी गर्ने उनको अर्को महत्त्वपूर्ण एजेण्डा हो।
क्याम्पसलाई नतिजामा आधारित व्यवस्थापनमा लैजाने शैक्षिक र प्रशासनिक गतिविधिलाई चुस्त दुरुस्त बनाउने । शैक्षिक क्षेत्रको अस्तव्यस्तपनलाई व्यवस्थित बनाउने, मानव मष्तिस्क निर्माण गर्ने शैक्षिक केन्द्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने, क्याम्पसभित्रका विकृति, विसङ्गति र बेथितिलाई सङ्गतिमा रुपान्तरण गरी गतिशील र क्रियाशील बनाउने, नव्यमानवतावादको प्रवर्धन गरी संस्कार, अनुशासन र नैतिक शिक्षामा क्याम्पसलाई अगाडि बढाउने, गुणस्तरीय शिक्षा प्रदान गर्न मूल्यमा आधारित व्यवस्थापन गर्दै श्रमबजारलाई चाहिने जनशक्ति उत्पादन गर्ने रणनीति नै आफ्ना एजेण्डा भएको विष्णुप्रसाद बराले बताएका छन् ।
सिनेटरहरूको विवेकको परीक्षण: जनप्रिय क्याम्पसमा ३५ सय विद्यार्थी अध्ययनरत छन्। उनीहरूको भविष्य ५१७ जना सिनेटरहरूको हातमा छ। आगामी नेतृत्व कस्तो चुन्ने ? राजनीतिक भागबन्डा मिलाउने नेतृत्व कि ३४ वर्षदेखि निस्वार्थ सेवा गरिरहेको नैतिक नेतृत्व ?
विष्णुप्रसाद बरालको उम्मेदवारीले सिनेटरहरूलाई एउटा गम्भीर प्रश्न सोधेको छ।
“आदरणीय सिनेटरज्यूहरू, तपाईँहरूको एक मतले जनप्रियको आगामी दशा र दिशा तय गर्नेछ। के हामी क्याम्पसलाई अस्तव्यस्त र व्यापारिक केन्द्र नै रहन दिने ? वा यसलाई सुधारेर सुशासित, संस्कारयुक्त र रोजगारमूलक शिक्षाको केन्द्र बनाउने ? यदि तपाईँहरू जनप्रियको साख बचाउन चाहनुहुन्छ भने, गुटभन्दा माथि उठेर विवेकको प्रयोग गर्नुहोस्। म ३४ वर्षदेखि तपाईँहरूकै साथमा छु, अब नेतृत्व गरेर देखाउनेछु।”
तार्किक क्षमता, स्पष्ट भिजन, र निष्कलङ्क छवि भएका विष्णुप्रसाद बरालको दाबीलाई कमजोर आँक्न मिल्दैन। यदि सिनेटरहरूले गुटभन्दा माथि उठेर गुणलाई भोट हाले भने, जनप्रिय क्याम्पसले एउटा दूरदर्शी अभिभावक पाउने निश्चित छ। मङ्सिर २६ गतेको नतिजाले नै बताउनेछ जनप्रियले व्यापार रोज्छ कि विवेक। तर, एउटा कुरा निश्चित छ विष्णुप्रसाद बरालले उठाएका सुशासनको मुद्दाले जनप्रियको चुनावी माहोललाई तरङ्गित मात्र पारेको छैन, शैक्षिक क्षेत्रमा एउटा नयाँ बहसको सूत्रपात गरेको छ।