काठमाडौं :
नेपालमा पाँचौँ हप्तासम्म सफलतापूर्वक प्रदर्शन भइरहेको चलचित्र ‘मन बिनाको धन’ अब अमेरिकामा पनि प्रदर्शन हुने भएको छ। सानो गाउँबाट सुरु भएको बाल गायक तथा अभिनेता अशोक दर्जीको संघर्षपूर्ण जीवनयात्रालाई चित्रण गरिएको यस चलचित्रले नेपालभर राम्रो व्यापार गर्न सफल भएको छ।
निर्माण पक्षका अनुसार, फिल्मले रु. ३ करोड ८० लाखभन्दा बढी कारोबार गरेको छ। अमेरिकामा ग्रेट इभेन्ट मुभीको प्रस्तुतीमा चलचित्र प्रदर्शनको तयारी भइरहेको र विभिन्न शहरमा शो तय गर्ने प्रक्रिया अघि बढेको जानकारी दिइएको छ।
अमेरिकामा बस्ने नेपाली समुदायले दर्जीको घर निर्माण क्रममा गरेको सहयोग सम्झिँदै चलचित्र प्रदर्शनबारे उत्साह व्यक्त गरिएको छ। नेपाली कला, संस्कृति र प्रतिभालाई विदेशमा प्रवर्द्धन गर्दै आएका ग्रेट इभेन्ट मुभीका डा. कुमार गुरुङले प्रदर्शनका लागि सहयोग गरेका छन्।
फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगानालगायत कलाकारको अभिनय छ। टंक बुढाथोकीले निर्माण, निर्देशन र संगीत सम्हालेका छन्। पटकथा तथा संवाद शिवम अधिकारी, छायांकन सौरभ लामा, र सम्पादन मित्र डी. गुरुङले गरेका छन्।
फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) र सहनिर्मातामा जी.पी. संग्रोला, विवेक नेपाल र विजय पाण्डे छन्। निर्माण पक्षले ‘मन बिनाको धन’ अमेरिकामा छिट्टै प्रदर्शन हुने भन्दै अमेरिका निवासी नेपालीलाई फिल्ममार्फत साथ र समर्थन जनाउन आग्रह गरेको छ।