काठमाडौँ :
चलचित्र विकास बोर्डले शनिबार रातिसम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। सोमबार बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार तीन चलचित्र ‘परान’, ‘हर्ष’ र ‘अभिमन्यु ः च्याप्टर १’ को आम्दानी विवरण रहेको छ।
रिपोर्टअनुसार नीर शाह अभिनित फिल्म ‘परान’ ले हालसम्म १७ करोड ३९ लाख ४९ हजार ५०१ रुपैयाँ नेरु ग्रस आम्दानी गरेको छ। यो आम्दानी २७ गते शनिबार राति ११ : ५९ बजेसम्मको तथ्यांक हो। दीपकप्रसाद आचार्य काकु निर्देशत यो फिल्ममा अभिनेता नीर शाहका अलवा महेश त्रिपाठी,अञ्जना बराईली,केकी अधिकारी,प्रविण खतिवडा,मदनकृष्ण श्रेष्ठ लगायतको अभिनय रहेको छ। तीन भाई छोरा भएता पनि सबै परदेशिएर निः सन्तान हुनु जस्तै भएको कथामा फिल्म निर्माण भएको छ। जुन फिल्मका गीत कथाले दर्शकलाई छोएको हो। गत कार्तिक १४ गतेबाट रिलिजभएको यो फिल्मले हलमा एकाउन्न दिन मनाउने तरखरमा छ। साथै यो फिल्म यस वर्षकै सर्वाधिक कमाई गर्ने अहिलेसम्मको रेकर्ड बनेको छ।

त्यस्तै, खगेन्द्र लामिछाने र वर्षा राउत अभिनित फिल्म ‘हर्ष’ ले हालसम्म २८ लाख ७६ हजार २८६ रुपैयाँ नेरु ग्रस आम्दानी गरेको छ। फिल्म गत १२ मंसिरमा प्रदर्शनमा आएको यो फिल्मलाई एकता पौडेलले निर्देशन गरेकी हुन्। उनकै लगानीमा निर्मार्ण भएको यो फिल्मले दोस्रो सातामा पनि खासै कमाई गर्न सकेन। अघिल्लो साता २८ लाख २ हजार ग्रस कसेक्सन थियो। यस फिल्मका कलाकारहरुको कुरा गर्दा खगेन्द्र,वर्षाका अलवा सन्तोष पन्त,नीर शाह,सर्मिला मल्ल,माओत्से गुरुङ लगायत रहेका छन्। निर्देशक पौडेल पुराना फिल्म निर्देशक शिव रेग्मीकी भान्जी हुन्। उनले अमेरिकामा फिल्म सम्बन्धी नै पढेर नेपाल आएकी हुन्।

उता, अघिल्लो वर्षको सर्वाधिक कमाई गर्ने फिल्म ‘पुर्णबहादुर साराङ्गी’का निर्माता विनोद पौडेलको निर्माणमा बनेको फिल्म ‘अभिमन्यु ः च्याप्टर १’ ले पछिल्लो शनिबारसम्म २१ लाख १० हजार २०५ रुपैयाँ नेरु ग्रस कलेक्सन गरेको छ। यसै फिल्मबाट फिल्ममा कामेश्वर चौरासियाले अभिनेता रुपमा डेब्यु गरेका थिए। उनका अलवा यो फिल्ममा लक्ष्मी बर्देवा,सरिता गिरी,किरण श्रेष्ठ,सेविका अधिकारी,शिशिर वाङ्देल लगायतको अभिनय रहेको छ।फिल्मलाई संगीतकार सुशान्त गौतमले निर्देशन गरेका हुन्।
चलचित्र विकास बोर्डले हरेक साता सोमबारबक्स अफिस रिपोर्ट सार्वजनिक गर्दै आएको छ। बोर्डले शनिबार राति ११ बजेर ५९ मिनेटसम्मको बक्स अफिस रिपोर्ट सोमबार दिउसो रिलिज गर्दै आएको छ।