काठमाडौं :
बर्दियामा ४० दिनसम्म छायांकन गरी नेपाली चलचित्र **‘लाली बजार’**को सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षले जनाएको छ। यम थापाको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेकी छन्।
षट्कोण आर्ट्सको व्यानरमा निर्माण भइरहेको फिल्ममा रविन्द्र सिंह बानियाँ र म्याक्स दीपेश खत्रीको लगानी रहेको छ। चलचित्रका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन्। फिल्ममा स्वस्तिमा खड्कासँगै रविन्द्र सिंह बानियाँ, आशा पौडेल, विशाल सापकोटा, गोविन्द सुनार, अभय बराल र समायरा थापा लगायत कलाकारको अभिनय रहेको छ।
निर्देशक यम थापाले छायांकन उत्कृष्ट बनेको दाबी गर्दै दर्शकले यस फिल्ममार्फत फरक कथावस्तुमा आधारित चलचित्र हेर्न पाउने बताएका छन्। निर्माणपक्षले चलचित्रलाई फागुन १ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा यसअघि नै गरिसकेको छ। यद्यपि, सो अवधिमा प्रतिनिधि सभाको निर्वाचन परेमा प्रदर्शन मिति पछि सार्ने तयारी पनि रहेको निर्माणपक्षले जनाएको छ।