Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘सम्झेर प्यार’ गजल सार्वजनिक : आरजु गिरीको शब्दमा प्रेम र समर्पणको गहिरो अनुभूति
- ‘ज्यू ज्यू सोल्टी’ सार्वजनिक : राजेश हमाल–करुना राइको जोडी फेरि चर्चामा
- ‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक, विपीन–केकीको प्रेमकथा प्रस्तुत
- ‘कमेडी नाइट विथ च्याम्पियन्स’ दोस्रो सिजनमा प्रवेश, ५४औँ एपिसोडबाट च्याप्टर–२ सुरु
- ‘रोल नं १’को टिजर सार्वजनिक : गरिब विद्यार्थीको पीडा र सपना बोकेको कथा
- राहदानी सेवाग्राहीका घरमा पुर्याउँदै चितवन प्रशासन
- राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
- वर्षापछि काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा सुधार
- प्रेम थापालाई आईएचआई फोटो जर्नलिस्ट एप्रिसिएसन अवार्ड
- मध्यपूर्व तनाव चर्किँदा तेलदेखि कूटनीतिसम्म असर
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै म्याग्दीको चाङ्गा
म्याग्दी,
प्राकृतिक सौन्दर्यले भरिपूर्ण मङ्गला गाउँपालिका–५ अर्मनको चाङ्गाधुरी पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ ।
समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको चाङ्गामा सडक यातायातको पहुँच, खानेपानी र केन्द्रीय विद्युतीकरणको सुविधा विस्तारसँगै प्रचारप्रसारका कारण आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । चाङ्गाखर्कबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमालको मनमोहक दृष्यावलोकन गर्न सकिन्छ ।
पहिलो पटक चाङ्गा क्षेत्रको भ्रमणमा पुग्नुभएका बेनीका विनोद धौलागिरिले चाङ्गाबाट देखिने प्राकृतिक सौन्दर्यसँगै ग्रामीण जीवनशैलीले आफूलाई लोभ्याएको बताउनुभयो । उहाँले स्थानीयले गर्ने परम्परागत कृषि र पशुजन्य उत्पादनलाई पर्यटनसँग जोड्नसकेमा पर्यटन प्रवद्र्धनमार्फत स्थानीयको जनजीवनमा परिवर्तन ल्याउन सकिने बताउनुभयो । चाङ्गा प्रकृति, जीवनशैली र संस्कृतिको सङ्गम मानिन्छ ।
यहाँबाट चुरेन, सीता, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे« र धम्पुस पिक हिमालका दन्तेलहर दृष्यले पर्यटकलाई लोभ्याउने गरेको छ । चाङ्गा क्षेत्रको भ्रमणमा समूहमा पुग्ने पर्यटकलाई स्थानीयले मौलिक भजनकृतन र नाचगान गरेर कला संस्कृतिमा रमाउन पाउने प्रबन्धसमेत मिलाइएको छ । पर्यटन सम्भावनाले भरिपूर्ण रहे पनि ओझेलमा परेका कारण गाउँपालिका र वडामार्फत पूर्वाधार निर्माण तथा प्रचार प्रसारको काम अघि बढाइएको मङ्गला–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले बताउनुभयो ।
उहाँका अनुसार चाङ्गा खर्कमा वनभोजस्थल चाङ्गा नजिकै रहेको चुलीको धुरीमा पार्क बनाउने तयारी गरिएको छ । गुराँसे जङ्गलमा झाडी फडानी गरेर लालीगुराँसको संरक्षण गरी पर्यटकीय आकर्षण बढाउने योजना बनाइएको छ । “स्थानीयवासी र पर्यटकको सुविधाका लागि शुद्ध खानेपानी र केन्द्रीय विद्युतीकरण विस्तार भएको छ, चाङ्गा खर्कको पाखोबारीमा चिया बगान बनाउने तयारीमा जुटेका छौँ, चाङ्गामा घरबास सञ्चालन गरेर पर्यटकको बसाइलाई आरामदायी बनाउने सोचमा छौँ”, वडाध्यक्ष खत्रीले भने।
अहिले हिउँदयाममा वनभोज र घुमघामका लागि सवारीसाधन हुँदै आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् । विभिन्न सङ्घसंस्थाले आफ्नो साधारणसभा तथा बैठकसमेत यस क्षेत्रमा आयोजना गर्ने परम्पराको सुरुआत भएको छ ।
गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पीपलबोट, पाखु, धारा, सिर्कुम, टीकाबाङ हुँदै एक घण्टा ३० मिनेटको सवारी यात्रा गरेपछि चाङ्गा पुग्न सकिन्छ ।
बाबियाचौरबाट छिसबाङ, टीकाबाङ, सिरकुम हुँदै चाङ्गा पुग्न सकिने वैकल्पिक बाटो रहेको छ भने चाङ्गाबाट मङ्गला र बागलुङको ताराखोला गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल तिनचुले जाने पदमार्ग जोडिएको छ ।
मङ्गला गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रवद्र्धनका लागि गाउँपालिकाले पहल थालेको अध्यक्ष शतप्रसाद रोकाले बताउनुभयो । उनले चाङ्गाबाट देखिने प्राकृतिक सौन्दर्यताले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना रहेकाले यहाँको पर्यटन विकासमा जोड दिइएको बताए ।
चाङ्गामा १७ घरधुरीको बसोबास छ । यहाँ परम्परागत रुपमा कोदो, मकै, फापर, तोरीलगायत अन्नबालीसँगै आलु, मुला, सिमी, भटमास, सागलगायतका तरकारीखेतीसमेत हुने गर्छ । परम्परागत रुपमा गाईभैँसी र भेडाबाख्रा पालन हुने यस ठाउँको भ्रमणमा पुग्ने पर्यटकले ग्रामीण र परम्परागत जीवनशैलीको अध्ययन अवलोकनसँगै स्थानीय उत्पादनको स्वाद लिन पाउने सुविधा रहेको छ । शान्त र एकान्त वातावरणमा रमाउन चाहने आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् ।
प्राकृतिक सौन्दर्यता र पर्यावरणका कारण यस क्षेत्रमा आन्तरिकसँगै बाह्यपर्यटकको आगमन बढाउन सकिने सम्भावना रहेको धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए ।
उहाँले चाङ्गालाई केन्द्रित गरेर गाउँपालिकाभित्रका पर्यटकीयस्थल चिनाकोटधुरी, झाँक्रीपानी, तिनचुले, हुँदै चाङ्गा आउने र यहाँबाट मालिका गाउँपालिकाको निस्कोट बराहताल हुँदै रुम दुरलेक जोड्ने गरी ट्रेकिङ ट्रेल बनाउन आवश्यक रहेको बताए ।
मनोरम हिमाल र ग्रामीण भू–वनोटको दृष्यसँगै जडीबुटी, वन पैदावार, वन्यजन्तु र पक्षीको अवलोकन गर्न पाउनु यस क्षेत्रको थप विशेषता रहेको छ । यस क्षेत्रमा पर्यटन आगमन बनाउनका लागि घरबास सञ्चालन, प्रचारप्रसार र पूर्वाधार निर्माण गर्न आवश्यक रहेको छ ।
कच्ची सडकको ट्र्याकलाई स्तरोन्नति गर्ने, पदमार्ग विस्तार गर्दै क्याम्पिङ क्षेत्र बनाउनसकेमा यस क्षेत्रमा पर्यटक आगमन बढाउन सकिने अपेक्षा गरिएको छ ।