सुचना, समाचार र मनोरन्जन

सेन्सरले बनायो नयाँ कार्यबिधि, हट्यो पुराना ८ बुँदा

काठमाडौं :

चलचित्रको सेन्सरलाई सहज बनाउन केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले सेन्सरसम्बन्धी नयाँ कार्यविधि ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ ल्याएको छ । नयाँ कार्यविधि ल्याएसँगै अब सेन्सर प्रक्रियामा रहेका विभिन्न त्रुटिको समाधान हुने अपेक्षा गरिएको छ । यो कार्यविधि पुस २ गतेबाट लागु भइसकेको छ । सेन्सर बोर्डका अध्यक्ष उदयबहादुर रानाले चलचित्र सेन्सर प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र झन्झटमुक्त बनाउन नयाँ कार्यविधि ल्याइएको बताए।

‘सेन्सर बोर्डका प्रक्रियागत जटिलताहरूलाई हटाउन र पुराना त्रुटि सच्याउन हामीले बुँदाहरू परिमार्जन गरेका छौँ,’ उनले भने, ‘सेन्सरमाथि प्रश्नचिन्ह उठिरहेको बेलामा प्रक्रियालाई समयसापेक्ष बनाउने प्रयास हो । ‘नयाँ कार्यविधिले फिल्मकर्मीलाई फिल्म सेन्सरमा निकै सहज हुने उनले बताए । ‘यो कार्यविधिको मुख्य उद्देश्य सेन्सर बोर्डलाई व्यवस्थित गर्नु र चलचित्रकर्मीलाई सहजता प्रदान गर्नु हो,’ रानामगरले भने।

बोर्डले ल्याएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि–२०८२’ मा बैठकसम्बन्धी केही विषय परिमार्जन गरिएको छ । बैठकसम्बन्धी व्यवस्थाको बुँदा नम्बर ४ मा उपदफा (३) को रुपमा चलचित्र जाँच गर्दा विज्ञ सदस्यको पदावधि सकिएको र नयाँ नियुक्त नभएको अवस्थामा चलचित्र विकास बोर्डको समन्वयमा मन्त्रालयले तयार गरेको रोस्टरबाट चलचित्र विज्ञ सदस्य आमन्त्रित गरी सेन्सर गर्न सक्ने व्यवस्था गरिएको छ । यसले फिल्म सेन्सरमा विज्ञको उपस्थिति हुनुपर्ने मागलाई सम्बोधन गरेको छ।

त्यस्तै बोडले कार्यविधिको बुँदा नम्बर ४ को ‘इजाजत माग गर्दा र समितिबाट जाँच गर्दा लिइने आधार’ मा भने पुरानो कार्यविधिका २० बुँदा ८ बुँदा घटाएर १२ बुँदा बनाएको छ । बिभिन्न झन्झटिलो र संबिधानले संसोधन गरिसकेको बुँदाअहिले हटाइएका हुन्। पशुपक्षीमाथि गरिएको अनावश्यक निर्दयीपूर्ण जघन्य हिंसा, अश्लीलता वा अस्वाभाविक यौनजन्य क्रियाकलाप, मानव अधिकारको संरक्षण र सम्वद्र्धन, चलचित्रको दृश्य तथा सम्वादको मनसाय लगायत धेरै बुँदामा परिमार्जन समेत गरेको हो।

सेल्फ सेन्सर पद्धतिको विकास

बोर्डले फिल्मकर्मीलाई फिल्म सेन्सर गर्न सजिलो होस् भनेर स्वयंले जाँच गर्ने (सेल्फ सेन्सर) पद्धतिको समेत विकास गरेको छ । त्यसका लागि बोर्डले एउटा फारमको समेत व्यवस्था गरेको छ । जसबाट चलचित्रकर्मीले आफ्नो फिल्ममा सेन्सरबाट देखिने त्रुटि आफैंले पत्ता लगाउन सक्नेछन् । सेल्फ सेन्सर अन्तर्गत रहेर चलचित्रकर्मीले आफ्नो फिल्म बुझाउँदा फिल्म सेन्सर सहज हुने र चलचित्रकर्मीले व्यहोर्नुपर्ने विभिन्न झन्झटबाट मुक्त भई सेन्सर बोर्ड र चलचित्रकर्मी दुवैको समय बचत हुने बोर्डका अध्यक्ष राना मगरले बताए।

‘सेल्फ सेन्सर चलचित्रकर्मीलाई आफ्नो फिल्मको त्रुटि आफैंले पत्ता लगाएर करेक्सन गर्ने एउटा प्रणालीको रुपमा हामीले लिएका छौं,’ उनले भने, ‘यसले सेन्सर बोर्ड र चलचित्रकर्मीलाई अनावश्यक झन्झट व्यहोर्नुपर्ने अवस्थाबाट मुक्त गर्छ ।’ सेल्फ सेन्सरले चलचित्रकर्मीलाई सेन्सर प्रमाणपत्र लिन समेत सजिलो हुने रानाको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.