सुचना, समाचार र मनोरन्जन

प्रतिभा माविले जित्यो १८औँ हिसान कास्की स्पोर्ट्स मिटको उपाधि

पोखरा :

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान कास्की स्पोर्ट्स मिटको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ।

पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्रतिभा माविले समग्रमा ३४ अंक हासिल गर्दै उपाधिसहित रनिङ शिल्ड आफ्नो नाममा गरेको हो। यससँगै प्रतिभाले लगातार चौथोपटक हिसान स्पोर्ट्स मिटको उपाधि जित्दै न्यू ग्यालेक्सीसँग सर्वाधिक उपाधि जित्ने विद्यालयको कीर्तिमानमा बराबरी गरेको छ।

१८औँ संस्करणमा प्रतिभाले छात्रा भलिबल, ब्याडमिन्टन र छात्र बास्केटबलमा टिम च्याम्पियन हुँदै २१ अंक प्राप्त गर्‍यो। त्यस्तै छात्र भलिबल र टेबल टेनिसमा उपविजेता बन्दै १० अंक तथा छात्रा भलिबलमा तेस्रो स्थान हासिल गर्दै ३ अंक जोड्दा कुल ३४ अंक पुगेको हो। यसअघि गत संस्करणमा प्रतिभाले ३१ अंक प्राप्त गरेको थियो।

सोमबार सम्पन्न छात्र बास्केटबल फाइनलमा प्रतिभाले मनकामना माविलाई ७४–६७ ले पराजित गर्दै च्याम्पियन बन्यो। तेस्रो स्थानको खेलमा न्यू ग्यालेक्सीले कास्की मोडर्नाइज्डलाई ४६–३५ ले हरायो। छात्र बास्केटबलतर्फ मस्ट भ्यालुएबल प्लेयर (एमभीपी) प्रतिभाका अलन शेरपुर्जा घोषित भए भने हाइएस्ट स्कोरर मनकामनाका दर्शन पाइजा बने।

छात्रा बास्केटबलतर्फ फिस्टेल एकेडेमीकी लिजा थापा एमभीपी तथा सोही विद्यालयकी आइको लक्ष्मी हाइएस्ट स्कोरर घोषित भइन्।

छात्र भलिबल फाइनलमा पोखरा युनाइटेडले प्रतिभालाई २५–२३ र २५–२० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो। तेस्रो स्थान न्यू ग्यालेक्सीले माउन्ट अन्नपूर्णलाई २५–२०, १५–२० र २५–१४ ले हराउँदै प्राप्त गर्‍यो। छात्र भलिबलतर्फ अजय सुनार (पोखरा युनाइटेड) उत्कृष्ट खेलाडी र लबसन सुनार (प्रतिभा) उत्कृष्ट स्पाइकर घोषित भए। छात्रातर्फ उत्कृष्ट खेलाडी सुदिना गुरुङ (प्रतिभा) तथा उत्कृष्ट स्पाइकर सुष्मा विक (गुरुकुल) घोषित भइन्।

फाइनल खेलसँगै सम्पन्न पुरस्कार वितरण कार्यक्रम हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीको अध्यक्षतामा सम्पन्न भएको थियो। समापन कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिक्षासँगै खेलकुदको महत्व अपरिहार्य रहेको उल्लेख गरे।

विजेता टिम तथा खेलाडीलाई हिसान नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, केन्द्रीय उपाध्यक्ष बाबुराम पन्त र डा. स्वागत श्रेष्ठ, केन्द्रीय सदस्य सूर्यबहादुर जिशी, हिसान गण्डकीका अध्यक्ष डा. रामजी शर्मा तथा हिसान कास्कीका पदाधिकारीहरूले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा प्लस–टु (कक्षा ११–१२), कलेज तथा विश्वविद्यालय तहका खेलाडीहरूले छात्र–छात्रा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबल टेनिसमा प्रतिस्पर्धा गरेका थिए।

हिसान कास्कीअन्तर्गत कास्की जिल्लाका ८० शिक्षालयमा करिब ४० हजार विद्यार्थी तथा ५ हजारभन्दा बढी शिक्षक–कर्मचारी आबद्ध रहेको हिसान कास्कीका सचिव किरण सापकोटाले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.